
काठमाडौं, २८ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ।
पहिले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको आजको बैठक दिउँसो १ बजे बस्नेछ । बालुवाटारमा बैठक राखेमा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताएपछि बालुवाटारमा बेठक तय गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभएको छ।
मंसिर २१ गतेको बेठकमा प्रधानमन्त्री ओली उपस्थित हुनुभएन । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बसेको मङ्सिर २१ गते सात दिनका लागि स्थगित गरिएको थियो।
सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावसहित सबै दस्तावेजहरू अध्ययनका लागि समय छुट्टयाइएको थियो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले हिजो साँझ प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो भने नेता सुबास नेम्बाङले आज बिहान भेट गर्नुभएको थियो ।
आइतबार दिउँसो १ बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ । नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।
पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ ।