राजावादीपछि ओली सरकारको विरोधमा नेपाली कांग्रेस मैदानमा ; भ्रष्ट र अकर्मण्य सरकारको एकै स्वरमा विरोध

काठमाडौं, २९ मंसिर । निकै लामो समयपछि नेपालको सबैभन्दा पुरानो, अस्तित्वमा रहेको र सबैभन्दा उदार तथा लोकतान्त्रिक दल नेपाली कांग्रेसले मुलुकका ७७ वटै जिल्ला सदरमुकाममा नेपाल कम्युुनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारको विरुद्धमा प्रदर्शन गरेको छ । यो प्रदर्शनसंगै संघीय संसददेखि प्रादेशिक सभासम्म प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसमाथि लाग्दै आएको निस्क्रियताको आरोप केही समयलाई पखालिएको छ ।
दुई साता अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा एक पुल उदघाटनको क्रममा प्रहरीले रोकेर हिराशतमा नै राखेपछि कांग्रेस तातिएको थियो। संभवत दोस्रो जनआन्दोलन पछि नेपाली कांगे्रसका यो स्तरका नेतालाई पक्राउ गरी हिराशतमा राखिएको पहिलो पटक हो ।
तनहुँको घटना र सरकारको अकर्मण्ताविरुद्ध नेपाली कांग्रेसले सोमबार आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनमा कांग्रेस सभापति शेरबहादुर देउवाले मकवानपुर, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र नीधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसीले पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै नेपाली कांग्रेसका युवा नेता गगन थापाले कैलाली, केन्द्रीय सदस्य चन्द्रभण्डारीले एनपी साउदले अछाम, प्रदीप पौडेलले कञ्चनपुर, शंकर भण्डारीले सिराह, सुरेन्द्र पाण्डेले रुपन्देही, बिरबहादुर बलायरले डोटी, कल्याण गुरुङले नवलपरासी, धनराज गुरुङले स्याङजा, रामहरि खतिवडाले इलाम, नैनसिंह महरले दोलखामा सम्बोधन गर्नुभएको थियो ।
कसले के भने ?
सरकारका कारण राजावादी बढे, गणतन्त्र खतरामा पर्यो : सभापति देउवा
२०७४ सालको प्रदेशसभा तथा संघीय संसदको प्रतिनिधिसभाको चुनाव प्रचारको क्रममा कम्युनिष्टले जिते रुन पनि नपाइने अभिव्यक्ति दिनुभएका कांग्रेस सभापति देउवाले हेटौडाको विरोध सभालाई संबोधन गर्दै भन्नुभयो, अहिले रोए पनि किन रोएको भनेर जेल हालिदिने स्थिति बनेको छ।
सरकारकै कारण राजा आउ भन्ने आवाज बढ्दै गएको दावी गर्दै कांग्रेस सभापतिले भन्नुभयो, ुअहिले मानिसहरु सडकमा राजा आऊ देश बचाऊ भनेर हिँड्दै छन्। यो सबै कम्युनिस्ट सरकारबाट आजित भएर मानिसहरुले त्यस्तो भनिरहेका छन्। सरकारकै कारण गणतन्त्र खतरामा पर्दै गएको छ।
नेपाली कांग्रेसले आयोजना गरेको वर्तमान सरकारको #सर्वसत्तावाद र #भ्रष्टाचार विरुद्धको #प्रदर्शनमा सहभागि हुनुहुने ७७ वटै जिल्लाका सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्ता, सुवेच्छुक, सर्वसाधरण, संचार माध्याम लगायत सबैलाई हार्दिक #धन्यवाद व्यक्त गर्न चाहन्छु। pic.twitter.com/yxLIFpZwEy
— Sher Bahadur Deuba (@SherBDeuba) December 14, 2020
यो इतिहासकै भ्रष्ट र नालायक सरकार हो : वरिष्ठ नेता पौडेल
काठमाडौं कांग्रेस काठमाडौंद्धारा रत्नपार्कमा आयोजित विरोध सभालाई सम्बोधन गर्दैनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबिसकेको बताउनुभयो।
वाइडबडीको विमान खरिददेखि औषधि खरिदसम्म भ्रष्टाचार भएको बताउदै वरिष्ठ नेता पौडेलले भन्नुभयो,‘यो सरकार भ्रष्टचारमा डुब्यो। यतिमात्र होइन, कम्युनिष्ट पार्टीका नेताहरूले भनिसके, यो सरकार नालायकी हो। भ्रष्टाचारी हो।’
उहाँले नेकपाकै बहुमत नेताले ओली सरकार भ्रष्टाचारमा डुबेको भन्दै राजिनामा मागेको बताउदै भन्नुभयो लोकतान्त्रिक व्यवस्थाको शक्ति विकेन्द्रीकरणको सिद्धान्त विपरित प्रधानमन्त्री ओलीले शक्ति केन्द्रीकरण गर्दै गएकोले प्रधानमन्त्रीको कार्यालय नै सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप लगाउदै भन्नुभयो, ‘बढी शक्तिले धेरै भ्रष्ट बनाउँछ भन्ने प्रधानमन्त्री कार्यालयमा देखियो ।’
मन्त्रीहरूले भष्टाचार गरेका काण्ड बाहिर आउँदा प्रधानमन्त्रीले चोख्याउने काम गर्नुभयो ।‘सरकारले भ्रष्टाचार रोक्न सकेन। न्याय प्रणालीकोसमेत धज्जी उडाइएको छ,’ उहाँले भन्नुभयो।
काण्डैकाण्डको सरकार : डा.शशांक कोइराला
प्रदेश एकको राजधानी विराटनगरमा मोरङ कांग्रेसद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री डा. शशांक कोइरालाले सरकारको स्वच्छेचारी प्रवृत्तिका कारण कांग्रेस आन्दोलन उत्रन बाध्य भएको बताउनुभयो ।
उहाँले सरकार वाइडबडी र न्यारोबडी जस्ता विमान खरिद प्रकरण, सेक्युरिटी प्रेस खरिद, ३३ किलो सुन प्रकरण, यति होल्डिड. प्रकरण र स्वास्थ्य सामग्री खरिद प्रकरणजस्ता धेरै काण्डमा सरकार मुछिएको बताउनुभयो ।
महामन्त्री कोइरालाले नयाँ भिजन र नयाँ दृष्टिकोण नभएका कारण सरकारले कुनै पनि विकासका ठूला आयोजना ल्याउन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले सरकारकै संरक्षणमा खुल्ला रुपमै मुलुकमा भ्रष्टाचार भइरहेको आरोप लगाउनुभयो । संगठित भएमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने भन्दै उनले कांग्रेसको आदर्श विचारलाई आत्मसाथ गर्दै पार्टीलाई एकढिक्का बनाउनु आफ्नो उद्देश्य रहेको बताउनुभयो ।
भ्रष्टाचारीको नाइके बालुवाटारमा बस्छ : गगन थापा
यसैबीच सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विरोध सभालाई संबोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले ७ वटा प्रदेशमध्ये ६ वटामा प्रदेश सरकार, ४ सयभन्दा बढी स्थानीय सरकार भएपनि सर्वसत्तावादी सरकारले जनताको पक्षमा सिन्को पनि नभाँचेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गर्न सकेको छैन्, यस्तो नालायक सरकार मुर्दाबाद।’
नेता थापाले सरकारले कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउने गरेको बताउदै उहाँले भन्नुभयो, ‘कहिले पूरा नहुने कुरामा देश र जनतालाई झुक्याउँछ। यस्तो हावादारी सरकार मुर्दाबाद।’
केन्द्रीय सदस्य थापाले आफ्नो सम्वोधनको क्रममा भ्रष्ट्रचारी खोज्नुपरे वालुवाटार जानुपर्ने अवस्था आएको बताउनुभयो।
उहाँले सरकारलाई ठिक ठाउँमा जान बाध्य नपार्दासम्म कांग्रेसले विश्राम नलिने पनि बताउनुभयो ।