Prakash Adhikari December 19, 2020

 

काठमाडौं, ४ पौष । नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले टी १० क्रिकेट लिगमा उच्च सम्मानकासाथ आबद्ध हुने सौभाग्य पाएका छन् ।
उनलाई आयोजक राष्ट्र यूनाइटेड अरब इमिरेट्स(यूएई)को टिम आबुधाबीले इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त दिएको छ ।

गत वर्ष टिम आबुधाबीबाट खेलेका पारसले २ इनिङ ब्याटिङ गर्दै ४ रन बनाएका थिए भने २ ओभरमा १ विकेट लिएका थिए ।

मेन्टरको रुपमा अवसर पाएका पारसले अव उदीयमान युवा प्रतिभालाई टी १० मा खेल्ने अवसर दिन पाउने छन र यसको लाभ नेपाली क्रिकेटका युवा खेलाडीले पनि पाउने सम्भावना रहन्छ ।

नेपाली क्रिकेटलाई डिभिजन ५ बाट वान डे इन्टरनेशनलसम्म पुर्याउने सौभाग्य पाएका पारस खड्काले इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त हुन पाउँदा आफू उत्साहित भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा आफू इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त भएकोमा नेपाली युवा खेलाडीले अवसर पाउने सम्भावना व्यक्त गरेका छन् ।

‘आबुधाबीको नयाँ भूमिका निर्वाह गर्न उत्साहित छु । नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट विकासमा सहयोग पुग्ने आशा छ र हाम्रो युवा खेलाडीले यसमा मौका पाउने छन् ।’ पारसले सामाजिक सञ्जालमा भनेका छन् ।

टि टेन लिग आगामी जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्नेछ ।

‘टीम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा पारस खड्कालाई नियुक्त गर्न पाउँदा हामी खुसी छौँ,’ सामाजिक सञ्जालमा आबुधाबीले भनेको छ, ‘नेपाली क्रिकेटका लेजेण्डले यस सिजन मेन्टरको भूमिकामा देखिनेछन्।’

 

 

Share Now

Leave a comment.