
काठमाडौं, ५ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक भएको उल्लेख गर्दैै नेपाली कांग्रेसले यसको प्रतिवाद गर्ने बताउनुभएको छ ।
आइतबार प्रधानमन्त्री के.पी. शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रतिनिधिसभा विघटन गरी बैशाखमा निर्वाचन गराउन राष्ट्रपति विद्यादेवी समक्ष सिफारिस गर्नुभएको थियो ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीको कदम अधिनायकवाद उन्मुख रहेको भन्दै यसप्रति गम्भीर असहमति जनाउदै भन्नुभएको छ, संविधान विपरितको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न ।
प्रतिनिसभा #विघटनको सिफारिस #असंवैधानिक छ।
अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर #असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न ।
यो कदमको राजनैतिक #प्रतिवाद गर्न नेपाली #कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।
— Sher Bahadur Deuba (@SherBDeuba) December 20, 2020
उहाँले नेपाली कांग्रेसले यो कदमको राजनैतिक प्रतिवाद गर्ने बताउदै नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्ने पनि उल्लेख गर्नुभएको छ ।
यसैबीच नेपाली कांंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्री ओलीको अधिनायवादतर्फको अन्तिम प्रयत्नलाई असफल तुल्याउन आग्रह गर्नुभएको छ ।
उहाँले पार्टीका तर्फबाट जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ,’प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न गर्नु भएको सिफारिसलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो कदम संविधानको अक्षर, मर्म र भावना विपरित छ । नेपाली कांग्रेसले यसलाई राजनैतिक रूपमा गम्भीर रुपले प्रतिवाद गर्नेछ ।’
उहाँले गत निर्वाचनको बेलामा स्थिरताको चर्को नारा दिएको बामगठबन्धनका नेताहरुले पार्टी एकीकरणपछि आन्तरिकद्धन्द्ध व्यवस्थापन गर्न नसकेर मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय भएको बताउनुभएको छ।
जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैमा लज्जास्पद भएको उल्लेख गर्दै उहाँले विघटनको अस्त्रलाई नेपाली कांग्रेस अधिनायकवादी आकांक्षाको अन्तिम प्रयत्नका रूपमा लिएको र त्यसलाई असफल तुल्याइने जिकिर पनि गर्नुभएको छ ।
उहाँले पार्टीका तर्फबाट जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीको असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपतिलाई अपील गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्नुभएको छ ।
पार्टीको आधिकारिक धारणा र संविधान तथा सात दशकभन्दा लामो लोकतान्त्रिक संघर्ष र जनताको बलिदानले ल्याएको राजनीतिक व्यवस्थाको संरक्षणको निमित्त लिने आवश्यक कदमबारे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले निर्णय गर्ने बताइएको छ ।