Prakash Adhikari December 30, 2020

 

लण्डन(संयुक्त अधिराज्य), १५ पौष (बीबीसी) । अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको अर्को खोपले यूकेमा प्रयोगका लागि अनुमति पाएको छ।

उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ।

यूके सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ।

यूकेमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो।

यसअघि डिसेम्बरको सुरुतिर फाइजर बायोएन्टेकले बनाएको खोप कोरोना भाइरसको विरुद्ध प्रयोग हुन थालेको थियो।

चीनमा पनि सिनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ।

बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोरोना भाइरसविरुद्ध बढी प्रभावकारी देखिएका छन्।

अर्को सातादेखि खोप दिन थालिने

यूकेका स्वास्थ्यमन्त्रीले ज्यानुअरी ४ देखि यो खोप दिन थालिने बताएका छन्।

उहाँका अनुसार नयाँवर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा अघि बढ्नेछ।

अक्सफर्ड यूनिभर्सिटी
यूकेले एस्ट्राजेनेकाबाट मगाएको खोपको मात्रा पाँच करोड मानिसका लागि पर्याप्त छ।

औषधिहरूको नियामक निकायले अनुमति दिनुको अर्थ उक्त खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो।

अक्सफर्ड(एस्ट्राजेनेकाले विकसित गरेको यो खोप गत एप्रिल महिनामा एक स्वयंसेवकमा परीक्षण गरिएको थियो।

त्यसपछि हजारौँ मानिस सहभागी हुनेगरी ठूलो स्तरमा क्लिनिकल परीक्षण गरिएको थियो।

यस्ता छन् विशेषता

  • अहिलेसम्म यूकेमा छ लाखभन्दा बढी मानिसले फाइजर(बायोएन्टेकको खोप लगाइसकेका छन्।
  • अक्सफर्ड‍(एस्ट्राजेनेकाको खोप सस्तो र एकैचोटि ठूलो मात्रामा उत्पादन गर्न सकिने भएकाले खोप लिने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।
  • यो खोप फ्रिजमा पनि भण्डारण गर्न सकिन्छ।
  • तर फाइजर-बायोन्टेकको खोपलाई ७० डिग्रीको तापक्रममा राख्नुपर्ने बाध्यता छ।

कसले पाउँछन् खोप ?

खोप अभियानमा अब यथासम्भव बढी मानिसलाई सहभागी गराइनेछ।

जोखिममा परेका मानिसलाई सकेसम्म धेरै सङ्ख्यामा कोरोना भाइरसको संक्रमणबाट जोगाउन खोपको पहिलो मात्रा उपलब्ध गराउने सरकारको लक्ष्य छ।

खोपसम्बन्धी विषय हेर्ने एउटा सरकारी समितिको सुझावमा यो निर्णय लिइएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार छोटो अवधिमै खोपको दोस्रो मात्रा उपलब्ध गराउनुको साटो अहिले जोखिमयुक्त समूहका मानिसलाई पहिलो मात्रा दिने कुरालाई प्राथमिकता दिइनेछ।

‘सबै जनाले खोपको पहिलो मात्रा लिएको १२ साताभित्र दोस्रो मात्रा लिन पाउनेछन्। दोस्रो मात्राले खोपको मात्रा पूरा गर्नेछ र दीर्घकालीन सुरक्षाका लागि त्यो आवश्यक छ।’

भारतको सिरम इन्स्टिच्यूटसंग यो खोप उत्पादनको सम्बन्धमा अक्सफोर्ड एक्ट्राजेनिकाको संझौता भएर भारतमा पनि यसको क्लिनिकल परीक्षण गरिएको थियो ।भारतमा हुने औषधी उत्पादनको लाभ नेपालले पनि पाउन सक्ने देखिन्छ ।

 

Share Now

Leave a comment.