काठमाडौं, १७ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलाशलाई सघाउन नेपाल वार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले एमिकस क्युरीमा ५ जनाको नाम टुंगो लगाएका छन् ।
शुक्रबार सर्वोच्च बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको छ ।
अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुनुहुन्छ भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित भएका हुनुभएको हो ।
यस पहिले बिहीबार बसेको नेपाल वार एशोसिएसनको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई एमिकस क्युरीको रुपमा पठाउने निर्णय गरेको थियो ।
संसद विघटनविरुद्ध परेको रिटमाथि पहिलो सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले यो विषयमा राय दिन नेपाल बार एशोसिएशनसँग ३ जना कानुनविद् एमिकस क्युरीको रुपमा माग गरेको थियो भने सर्वोच्च अदालत वार एशोसिएसनसंग २ जना एमिकस क्युरी मागेको थियो ।
कुनै महत्वपूर्ण विषयमा अदालतलाई सहयोग गर्ने गरी चयन भएका सम्बन्धित विषयका विज्ञलाई एमिकस क्युरी भनिन्छ । एमिकस क्युरीका लागि चयन भएका विज्ञले संविधान, कानुन र आफ्नो विवेक अनुसार अदालतलाई तटस्थ राय दिनेछन् ।
संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ र त्यसपछि निरन्तर सुनुवाइ हुनेछ ।