Prakash Adhikari January 8, 2021

 

टोकियो(जापान), २४ पौष (एजेन्सी)। कोरोना भाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ ।

जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री योशिहिडा सुगाले संकटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताउनुभएको छ ।

अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको संकटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ । संकटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ ।

यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।

सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पुर्याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार २ हजार ४ सय ४८ जना थपिएका छन । देशभरी ७ हजार ४ सय ९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् ।

Share Now

Leave a comment.