Prakash Adhikari January 10, 2021

बोडे(भक्तपुर), २५ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता प्रदीप गिरिले मुलुकमा तानाशाहको उदय हुने खतरा बढेको बताउनु भएको छ ।

नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क्षेत्र नं. ‘ख’ ले शनिबार बोडेमा आयोजना गरेको विरोधसभामा बोल्दे उहाँले सो कुरा बताउनुभएको हो ।

कांग्रेसका बौद्धिक नेता गिरिले तानाशाहको उदयले कसैको हित नगर्ने बताउदै भन्नुभयो, ‘मुलुकमा तानाशाह आयो भने कोही पनि रहँदैन। त्यसैले गलत कदमलाई सबैले गलत छ भन्नुहोस।’

उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक र राजनीतिक रुपमा पनि गलत कदमका विरुद्धमा थालिएको आन्दोलन नयाँ प्रधानमन्त्री बनाउन वा ओलीलाई पदमुक्त गर्न मात्र नभई नागरिकको अधिकार बढाउनको लागि भएको जिकिर समेत गर्नुभयो।

नेपाली कांग्रेसका नेता गिरिले अदालत र प्रधानन्यायधीशले विवेक प्रयोग गरे संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘संविधानमा बहुमतको सरकारले संसद् भंग गर्ने कुनै प्रावधान छैन। अदालत र प्रधानन्यायधीशले विवेक प्रयोग गरे संसद पुनःस्थापना हुन्छ।’

उनले संसद् पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरुले संसद पदबाटै राजिनामा गर्नुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘संविधानको बर्खिलाप गरी संसद भंग गर्ने प्रधानमन्त्री र मन्त्रीहरु संसद पुनःस्थापना भए त्यहाँ बस्नु उचित हुँदैन।’

कांग्रेस नेता गिरिले आफूले संविधान निर्माणकालमा संविधानमा भएका कमी कमजोरी सच्चाउन माग गर्दै जारी गर्न हतार गर्न नहुने सुझाव दिएको स्मरण गर्दै भन्नुभयो, ‘संविधानमा हतारमा पारित ग¥यो, त्यो हतारो कांग्रेसलाई पनि थियो, एमालेलाई पनि थियो, माओवादीलाई पनि थियो, खाओवादीहरुलाई पनि थियो।’

उहाँले प्रधानमन्त्री ओलीका गलत र असंवैधानिक कदमले सबैलाई संविधानमा रहेका त्रुटिहरु सच्च्याउने अवसर दिएको उल्लेख गर्दै भन्नुभयो, ‘अहिलेको संविधानमा दुई वटा संशोधन आवश्यक छ। पहिलो प्रत्येक पाँच(पाँच वर्षमा निर्वाचन हुने किटानी व्यवस्था र दोस्रो जनप्रतिनिधिहरुले संविधान र कानुनअनुसार गलत कदम उठाए जनताले फिर्ता बोलाउन पाउने अधिकार सुनिश्चित गर्ने व्यवस्था ।’

नेपाली कांग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा क्षेत्र नं. ‘ख’ का सभापति किरण थापा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापति दुर्लभ थापा, पुर्वसभापतिद्धय गणेशमान चक्रधर र महेश श्रेष्ठ, महासमिति सदस्य एवम् मध्यपुर थिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अष्टकुमार कवे, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मध्यपुर थिमि नगरसभापति सुरेन्द्र श्रेष्ठ, ईन्द्रबहादुर प्रजापतिलगायतका नेताहरूले ओली प्रवृतिको अन्त्यका लागि कांग्रेसले फेरि एकपटक आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

Share Now

Leave a comment.