
काठमाडौं, २७ पौष । पृथ्वी जयन्ती मनाउन सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्न उद्देश्यले काठमाडौंको भद्रकालीमा भेला भएर अगाडि बढ्न खोजेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिला घाइते भएकी छन्।
घाइते ती महिलालाई प्रहरीकै भ्यानमा राखी उपचारका लागि अस्पताल लगिएको छ।
भद्रकालीबाट सिंहदरबारको मुल गेटअघि पृथ्वीको शालिक रहेको स्थानतर्फ जाँदै गरेको सो समूहलाई प्रहरीले बीचमा रोकेको थियो। त्यसपछि भएको झडपमा प्रहरीले लाठी चार्ज गर्दा क्रममा ती महिला घाइते भएकी हुन्।
प्रदर्शनकारीहरुले ‘राजतन्त्र जिन्दावाद, गणतन्त्रवादी होशियार’ जस्ता नारा लगाएका थिए ।
अभिनेत्री मनिषाद्धारा सरकारलाई प्रश्न
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न गएको टोलीलाई प्रहरीले धरपकड गरेकोमा अभिनेत्री मनीषा कोइरालाले आपत्ति जनाउनुभएको छ।
पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न राप्रपाका अध्यक्ष पशुपतिशमशेर जवरालगायतको टोलीलाई प्रहरीले अवरोध गरेर लाठी प्रहार गरी एक महिलालाई घाइतेसमेत बनाएपछि ट्वीटरमा मनिषाको प्रतिक्रिया आएको हो।
पृथ्वीनारायण शाहलाई सरकारले सम्मान गर्ने आशा गर्नुभएकी मनिषाले सरकारको व्यवहार ठिक उल्टो भएको बताउनुभएको छ ।
राष्ट्रीय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नापाउने?
आमव्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।— Manisha Koirala (@mkoirala) January 11, 2021
‘मैले आशा गरेकी थिएँ कि जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकार ले सम्मान गर्नेछ। तर उसको व्यवहार ठीक उल्टो देखियो,’ उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘पृथ्वी नारायणको सालिक अगाडि नै सरकार को यो आपत्तिजनक कार्यरु पानीको फोहरा र टियर ग्याससहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’