Prakash Adhikari January 11, 2021

काठमाडौं, २७ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको चाहना अनुसारको जिम्मेवारी पाएमा देश र जनताको हितमा काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।

नेपालको एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २ सय ९९ औं जयन्तीको अवसरमा एक शुभकामना सन्देश दिंदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले शाहवंशीय राजपरम्पराको विशेषता जनचाहनाअनुसार अगाडि बढ्ने उल्लेख गर्दै सडकबाट आएका ‘राजा आउ देश बचाऊ’ भन्ने नारालाई समेत सम्वोधन गर्दैै यदि जनचाहना आफू आउने नै रहेको छ भने त्यो जिम्मेवारी बहन गर्न आफू तयार रहेको बताउनुभएको हो ।

सडकमा राजसंस्थाको चाहना घन्किरहेका बेलामा ती सबै विषयमा आफ्नो धारणा राख्दै पूर्वराजाले ज्ञानेन्द्र शाहले भन्नुभएको छ, ‘अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, सम्वैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमानदारी पनि दर्शाएका छन् । हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ ।’

 

उहाँले देश सेवाको उच्चतम साधनाको रुपमा रहनुपर्ने राजनीति विचलित भैरहेको तर्फ संकेत गर्दै भन्नुभएको छ , हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस आम नेपालीले गर्नुपरेको छ ।’

सन्देशमा राष्ट्रिय अखण्डताका एकताको गाँठो बलियो पार्नुपर्ने उल्लेख गर्दै भनिएको छ, यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहनेछ । पृथ्वी जयन्तीको सार्थकता पनि यसैमा रहने हाम्रो मान्यता रहेको छ ।

‘नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरणमात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौं ।

यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा आफू रहेको उल्लेख गर्दै राजा ज्ञानेन्द्रले भन्नुभएको छ, तर त्यो समय केबल आफ्नो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाटमात्र सम्भव थिएन । दैविक आशिर्वाद, अध्यम्, साहस, पौरख र कुटनीतिक कौशलको अद्धितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो ।

पूर्व राजा ज्ञानेन्द्रले नेपालको निर्माणमा अनेक जातीय भाषिक र सांस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान रहेको उल्लेख गर्दै भन्नुभएको छ, संसारमा कतिपय देश जाति, भाषा र धर्मका नाममा परस्पर मतभेदबाट उत्पत्ति भएका छन् । तर नेपाल विश्वको एकमात्र त्यस्तो मुलुक हो जुन सबै जातीय, भाषिक र सांस्कृतिक सम्प्रदायको साझा प्रयासको उपज हो ।

पूर्व राजाले राष्ट्रनिर्माता बडामहाराजाधिराजबाट मार्गदर्शनका निम्ति बक्सेको दिव्यउपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको उल्लेख गर्नुभएको छ ।

Share Now

Leave a comment.