Prakash Adhikari January 12, 2021

काठमाडौं, २८ पौष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको केन्द्रीय समितिका ७० प्रतिशत बहुमत आफ्नो पक्षमा रहेकाले पार्टीको आधिकारिकता आफूले पाउनेर चुनाव चिन्ह सूर्य आफ्नो हुने दाबी गरेको छ।

गण्डकी प्रदेशका भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै समूहका नेता त्रय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी र संसदीय दलमा आफ्नो समूहको बहुमत रहेको दाबी गर्नुभएको थियो।

‘हामीसँग ७० प्रतिशत बहुमत छ। हिजो निर्वाचन आयोग पनि पुगेर सबै कुरा जानकारी गराएका छौँ,’ कार्यकर्ता भेला तथा प्रशिक्षणलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हिजोबाट म झन् ढुक्क भएको छु। निर्वाचन आयोगले निष्पक्ष ढंगबाट निर्णय लिन्छ।’

उहाँले नेकपा र सूर्य चिह्न आफ्नो समूहको हुने दाबी समेत गर्नुभयो।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि केन्द्रीय कमिटी विस्तार गरेको दाबी पनि गर्नुभयो।

यस्तै, उहाँले सडक आन्दोलनबाट आफूहरु सफलता नजिक पुगिसकेको दाबी गर्दै अब केही दिनमै त्यसको सफलता प्राप्त गर्ने जिकिर गर्नुभयो।

प्रधानमन्त्री ओलीको कदमलाई लिएर सबैतिरबाट असंवैधानिक भएको भन्ने आवाज उठिरहेको दाबी पनि नेताहरुले गर्नुभएको थियो ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका नयाँ अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गुट मात्रै चलाएको आरोप लगाउदै भन्नुभयो “उहाँले आफूलाई पार्टीभन्दा माथि ठान्नुहुन्छ। तर, उहाँले चलाएको ‘केपी ओली फाउण्डेसन’ गुट मात्रै हो। आधिकारिक नेकपा हामी हौँ ।”

‘पार्टीको ४ सय ४१ केन्द्रीय सदस्यमा ३ सय १५ बढी हुन्छ कि उहाँको पक्षमा देखिएका १ सय १८ जना धेरै हुन्छ?  भन्ने प्रश्न गर्दै अध्यक्ष नेपालले भन्नुभयो ‘हामी पार्टीको विधान र संविधान बमोजिमको निर्णय मान्छौँ। पार्टीभित्र बहुमतको निर्णय पार्टीको निर्णय मान्य हुन्छ।’

उहाँले पार्टीको विधानमा बहुमतको निर्णय मान्य हुन्छ भनेर स्पष्ट रूपमा लेखिएको दाबी गर्दै प्रधानमन्त्री ओलीले एकलौटी चल्न खोजेर पार्टी निष्क्रिय बनाएको आरोप लगाउनुभयो ।

“उहाँले पार्टीलाई निष्क्रिय बनाउनुभयो। कमिटीका बैठकसमेत राख्नुभएन। बैठकमा नआउने ओली प्रवृत्तिको कारणले पार्टीभित्र समस्या भइरह्‍यो ” अध्यक्ष नेपालले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो ‘उहाँ बैठकमा नआउने छलफल नै नगर्ने उहाँको कुरामा नतमस्तक हुनुपर्ने कारण के हो ?गुट चलाउने मान्छेले पार्टीको निर्णय मान्दिनँ भन्न पाउँदैन।’

नेता नेपालले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गरेर आफूले गरेको गल्ती स्वीकार स्वीकार गरी पार्टीको मूलधारमा फर्कन आग्रह गर्दै भन्नुभयो, ‘केपी ओली सुध्रिने मान्छे त होइन। उहाँ सुध्रिनु भनेको बालुवा पेलेर तेल निकाल्न खोज्नु जस्तै हो।’

Share Now

Leave a comment.