वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २९ पौष(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत साता भएको घातक क्यापिट हिंसाअघिको आफ्नो सम्बोधन ‘पूर्ण रूफमा उपयुक्त’ भएको बताउनुभएको छ।
उहाँले आफ्नो उक्त सम्बोधनमा संसद्तर्फ ‘मार्च’ गर्न समर्थकहरूलाई आग्रह गर्नुभएको थियो।
उहाँले ‘हूलदङ्गाको निम्ति उक्साएको’ आरोपमा डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउन गरिरहेको प्रयासलाई ‘हास्यास्पद’ को संज्ञा दिनुभयो।
राष्ट्रपति निर्वाचित जो बाइडनले सपथ ग्रहण गर्ने ज्यानुअरी २० तारिखदेखि ट्रम्पले कार्यालय छोड्दै हुनुहुन्छ।
तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बुधवार उहाँमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुने ठानिएको छ।
तर राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, ‘मलाई लाग्छ त्यसले हाम्रो देशमा भयानक खतरा र भयङ्कर आक्रोश निम्त्याउँछ। म हिंसा चाहन्न।’
उहाँ मेक्सिकोसँगको सिमानामा निर्मित पर्खालको अवलोकन भ्रमणको निम्ति टेक्ससतर्फ प्रस्थान गर्दा संवाददाताहरूसँग बोल्दै हुनुहुन्थ्यो।
पाँचजनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरीसहित दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएको क्यापिटल भवनको हिंसापछि उहाँ पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा पर्नुभएको हो।
ट्रम्पले भनाई
वासिङ्टनमा जनवरी ६ तारिखमा आयोजित र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने अप्रमाणित दाबी दोहर्याउनुभएको थियो।
तस्बिरहरू : अमेरिकी संसद्भित्र प्रदर्शनकारी
उहाँले आफ्ना समर्थकहरूलाई संसद् भवनतर्फ मार्च गर्न पनि आग्रह गर्नुभयो।
ट्रम्पले हजारौँ समर्थकहरूलाई भन्नुभयो, ‘हामी क्यापिटल जाँदैछौँ र हाम्रा पौरखी सिनेटर अनि सांसदलाई प्रेरणा दिनेछौँ, तपाईँहरूले शक्ति देखाउनु पर्छ र बलियो बन्नु पर्छ।’
उहाँले शान्तिपूर्ण ढङ्गले आफ्नो आवाज सुनाउन त्यसो गरिने बताउनुभएको थियो। तर उहाँका समर्थकहरूको क्यापिटल भवन प्रवेश हिंसामा परिणम भयो।
अमेरिका संसद्मा हङ्गामा
उक्त घटनापछि भने ट्रम्पले एउटा भिडिओ सन्देशमा प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गर्नुभएको थियो।
उहाँको भनाइ थियो, ‘चुनावलाई हामीबाट चोरियो। तर अहिले तपाईँहरू घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।’