Prakash Adhikari January 18, 2021

 

 

मस्को(रुस), ५ माघ (बीबीसी) । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाउनुभएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ।

उहाँलाई पक्राउ गरेकोमा पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्।

क्रेमलिनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए।

पश्चिमाहरूद्वारा निन्दा

उहाँलाई स्वागत गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।

नभाल्नीले आफूलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताउनुभएको छ। खोजपत्रकारहरूले उहाँको आरोप सही भएको बताए पनि क्रेमलीनले त्यसलाई अस्वीकार गरेको छ।

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गर्नुभएको छ।

बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई जबाफदेही बनाउन पनि आह्वान गर्नुभएको छ।

अन्य पश्चिमा नेताहरूले पनि नभाल्नीको पक्राउको निन्दा गर्नुभएको छ।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले नभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भन्नुभएको छ।

‘उहाँलाई तत्काल रिहा गर्न म रुसी अधिकारीहरूलाई आह्वान गर्छु’, मिसेलले ट्वीटमा लेख्नुभएको छ।

विरोध प्रदर्शन

विरोध प्रदर्शन र नभाल्नीका समर्थकलाई नुकोभो विमानस्थलमा नियन्त्रणमा लिँदै प्रहरी

के भएको थियो ?
‘म सही छु भन्ने मलाई थाहा छैन। मलाई कुनै डर छैन’, मस्कोको शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नु केही मिनेट अगाडि आफ्ना समर्थक तथा सञ्चारकर्मीलाई नभाल्नीले यसो भन्नुभएको थियो।

उहाँका वकिललाई साथमा जान दिइएन।

यसअघि आइतवार उहाँको विमान उत्रिने भनिएको नुकोभो विमानस्थलमा अतिरिक्त दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो।

कैयन् अन्य अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए।

गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो।

त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नभाल्नी बेहोस हुनुभएको थियो।

उहाँलाई नोभिचोक नामक विष दिइएको पछि पत्ता लागेको थियो।

रुसी अधिकारीहरूले सो घटनामा आफू जिम्मेवार नभएको बताउँदै आएका छन् भने नभाल्नीले चाहिँ राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा आफूलाई विष दिइएको भन्दै आएका छन्।

 

 

Share Now

Leave a comment.