काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारका कुकर्महरुको विरोधमा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्नेे भएका छन् ।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तय गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज देशभरका शुभेच्छुक संगठनहरुलाई विरोधमा उतारिएको हो। आज ७७ जिल्लाका सदरमुकाममा नेपाली कांग्रेसका १८ शुभेच्छुक संघ–संगठनले विरोध प्रदर्शन गर्नेछन्।
नेपाली कांग्रेसले नेपाल ट्रेड युनियन कांग्रेस,नेपाल शिक्षक संघ,नेपाल निजामती कर्मचारी युनियन,नेपाल सांस्कृतिक संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन,प्रशासन, व्यवस्थापन र विकास केन्द्र,नेपाल लोकतान्त्रिक शेर्पा संघ, लोकतान्त्रिक गैरसरकार संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल,नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन,सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ,नेपाल प्रेस युनियन,त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघप्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल,नेपाल कुमाल संघ,लोकतान्त्रिक नेवाः खल,डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाललाई शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।
नेपाली कांग्रेसका भातृसंस्थाहरुले राजधानी काठमाडौंमा रत्नपार्क र टुंडिखेलको वरिपरी मौन रहेर विरोध प्रदर्शन गर्ने भएका छन् । विरोध प्रदर्शन दिउँसो १२ बजे सुरु हुने बताइएको छ ।
शान्तिपूर्ण विरोध गर्न अपील
शुभेच्छुक संस्थाहरुको विरोध प्रदशनको पूर्वसंध्यामा शुक्रबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै निरंकुश र तानाशाही प्रवृत्तिको ओली सरकारले गरेको प्रतिनिधिसभा विघटन तथा विधि उल्लंघनको शृङ्खलाबद्ध घट्नाका विरुद्धमा ब्यापक स्तरमा सहभागिता जुटाएर विरोध कार्यक्रम सफल पार्न अपील गर्नुभएको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै नेपाली कांग्रेस सुरुदेखि नै आन्दोलनमा छ ।
कांग्रेसले आजको कार्यक्रममा पनि गरिखाने जनतालाई हानी नोक्सानी नपुग्नै गरी शान्तिपूर्ण र शालिन ढंगले विरोध प्रदर्शन गर्न आग्रह गरेको छ ।
नेपाली कांंग्रेसले संवैधानिक परिषदसम्बन्धी संवैधानिक ब्यवस्था व्यवस्थालाई निस्प्रयोजित गर्दै आफ्ना अनुचरहरुलाई स्थापित गरेर राजनीतिक प्रतिशोध लिने मनशायले कपटपूर्ण तवरले अध्यादेश ल्याएर प्रतिनिधिसभा विघटन गरी संसदीय सुनुवाईको संवैधानिक प्रकृयामा प्रवेश नै नगराईकन राष्ट्रपतिबाट नियुक्ति दिलाएर सपथ ग्रहण गराई पदस्थापन गरेको कार्यको पनि विरोध गरेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध पौष १३ गते देशभरका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, पौष २५ गते देशभरका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा,माघ ३ गते देशभरका ७ सय ५३ पालिका स्तरमा र माघ ८ गते देशभरका वडाहरुमा विरोध प्रदर्शन र आमसभा गरेको थियो।
नेपाली कांग्रेसले फागुन ३ गते देशका ७७ जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।


















