विराटनगर(मोरड.), २५ माघ । प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दैछ ।
प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको छ।
तर त्यसअघि अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभएको छ।
बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए ओली समूहले प्रदेश सभा बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।
आजको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची छ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका १६ सांसदले गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका छन् भने ओली समूहले उनीहरूलाई ३ महिनाका लागि निलम्बन गरेको छ।
मध्यमार्गी उपाय नखोजीकन बैठक राख्दा अविश्वासको प्रस्ताव पारित हुन सक्ने भयले मुख्यमन्त्री राई पक्षले प्रदेश सभा बैठक नै बस्न नदिने तयारी गरेको छ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो स्थिति अझै सार्वजनिक गरिसकेको छैन। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले यसको निर्णय गर्ने जिम्मेवारी प्रदेश संसदीय दललाई नै दिएको छ ।
प्रदेश १ सभामा कूल ९३ सांसद छन्। जसमा नेकपाका मात्रै ६७ जना छन्। त्यसैगरी कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ १ जना सांसद छन्।
नेकपाका ६७ मध्ये मुख्यमन्त्री राईका पक्षमा २८ सांसद मात्रै देखिएका छन्।
प्रचण्ड–नेपाल समूहमा ३४ सांसद उभिएका छन् भने दुई जना तटस्थ छन्। प्रदेश सभामा अविश्वासको प्रस्ताव सफल वा असफल जे हुन पनि ४७ सदस्यको समर्थन आवश्यक हुन्छ।
कांग्रेसको समर्थनविना नेकपाका दुबै खेमालाई सरकार टिकाउन र ढलाउन आवश्यक संख्या पुग्दैन।
यसअघि यही माघ ७ गते बसेको पहिलो बैठक नेकपाका दुई पक्षको विवादकै कारण ३ मिनेट मात्र बसेर अनिश्चितकालका लागि स्थगन भएको थियो।


















