काठमाडौं, २९ माघ । संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको सरकारले पार्टीमा विमति राख्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षीय कार्यकर्ताहरुलाई धरपकड गर्न थालेको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम र पुनस्थापनाको पक्षमा देशव्यापी दौडाहामा पुग्नुभएकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आजै अपरान्ह पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई शंखमूलस्थित उहाँकै निवासबाट पक्राउ गरेको हो ।
उहाँले प्रतिनिधिसभा विघटनका सम्बन्धमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको असंवैधानिक कदमलाई रोक्ने वा कानूनी परामर्श समेत नगरी आज्ञापालक कर्मचारीले जसरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले पक्राउ गरेको हो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गर्नुभएको थियो ।त्यसपछि महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी दिएर गिरफ्तार गरेको हो । प्रहरीले नेतृ झाँक्रीलाई राज्यविरुद्धको अपराध अन्तरगत जरुरी पक्राउ पूर्जी थमाएको छ ।महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएको हो ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

पक्राउको विरोध
झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड(माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि नेतृ झाँक्रीले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएकोले प्रक्रिया पुर्याएर पक्राउ गरे गिरफ्तारी दिने बताउनुभएको थियो।
महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लिइएको बताएको छ ।
यस अगाडि नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरुले त्यसको विरोधमा नाराबाजी गरेका थिए ।
नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए ।
पक्राउका निमित्त पूँर्जी माग

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर पक्राउ गर्न आएको महानगरीय प्रहरी महाशाखाको टोलीलाई नेतृ झाँक्रीले भने राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई सुझाव दिनुभएको थियो ।
यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले प्रहरीको जान अस्वीकार गर्नुभएको थियो ।
गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उहाँलाई सोधपुछका लागि बोलाएको थियो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर बोलाएपछि उहाँले राजनीतिक विषय भएकोले पक्राउ पूर्जीविना नआउने जानकारी दिनुभएको थियो ।
‘मैले यो राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, यसको प्रतिवाद गर्छौं भने,’ प्रहरीले सोधखोज गरेको जानकारी पाएपछि निवासमा आइपुगेका सञ्चारकर्मीसंग नेतृ झाँक्रीले भन्नुभएको थियो , ‘यो कानूनी पनि विषय भयो, त्यसकारण पक्राउ पूर्जी जारी गर्नुस्, आउनुस् भनेको छु ।’

उहाँले भन्नुभएको थियो ‘राज्यले नागरिकलाई नियन्त्रणमा लिनसक्छ । उहाँहरुले चाह्यो भने विनाकारण पनि २४ घण्टासम्म थुन्नसक्छ । तर यो राजनीतिक मुद्दा भएकाले उहाँले कारणसहित पूर्जीसहित आउनुभयो भने मैले गिरफ्तारी दिनुपर्छ ।’
राजनीतिक अभिव्यक्तिलाई लिएर कसैलाई पक्राउ गर्न खोज्नु लोकतन्त्रको उपहास भएको उहाँले बताउनुभएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक कार्यक्रमहरुमा हिडिरहेको भन्दै उहाँले भन्नुभएको छ, ‘अलि धेरै हिँडेको ह्यारेसमेन्ट गर्न खोजेको होला ।’
नेतृ झाँक्रीले तानाशाहहरु ढल्ने बेलामा यस्तो हुने बताउदै भन्नुभएको छ, कमिलाको पनि प्वाँख आउँछ भने झै तानाशाहहरुले ढल्ने बेला ननइश्यूलाई पनि इश्यू बनाउछन् । यो कुनै मुद्दा नै होइन । यो राजनीति हो । प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो र राष्ट्रपति त्यसको मतियार हुनुभयो भनेर हामीले सडकबाटै लल्कारेर लडिरहेका छौं ।’
२०६२ । ३६ को जनआन्दोलनमा सक्रिय भूमिका खेल्नुभएकी झाँक्रीको शंखमुलस्थित निवास बाहिर विहानबाटै सादा पोशाकमा सुरक्षाकर्मी समेत परिचालन गरि उहाँको गतिविधिमा निगरानी गरिएको थियो ।नेतृ झाँक्रीले २०६२।६३सालको आन्दोलनमा रगत बगाएर आफैले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ‘व्यवस्था खोसिसकेको हो कि भन्ने जस्तो लागेको बताउनुभएको छ ।



















