काठमाडौं, ३० माघ । विश्वकप लिग २ अन्तर्गत आगामी मार्च १९ तारिख देखि ुसुरु हुने तय भएको नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक क्रिकेट श्रृखला स्थगित भएको छ।
नेपाल क्रिकेट संघले शुक्रबार प्रेस बिज्ञप्ति जारी गर्दै आईसीसीले अधिकारिक रुपमा सिरिज स्थगित गरेको जानकारी गराएको छ।
यस्तै ओमान सिरिजसंगै आईसीसीले अप्रिलमा हुने पपुवा न्यु गिनी, ओमान र स्कटल्याण्ड बीचको तथा मेमा पपुवा न्यु गिनी, अमेरिका र नामिबिया बीचको सिरिज पनि स्थगित गरेको छ।

गत वर्ष फेब्रुअरीमा नेपाली राष्टिय टिमले ओमान र अमेरिकासंग घरेलु मैदानमा विश्वकप लिग २ अन्तर्गतको पहिलो त्रिकोणीय सिरिज खेलेको थियो।
त्यसपछि कोरोनाका कारण बारम्बार सिरिजहरु स्थगित हुँदै आएको छ।
गत वर्ष मार्चमा थाइल्याण्डमा सम्पन्न एसीसी टि २० इस्टर्न पछि नेपाली राष्ट्रिय क्रिकेट टिमले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन।
आईसीसीले गत महिना विश्वकप लिग २ को खेलहरु पुनः सुचारु हुने बताउदै खेल तालिका सार्वजनिक गरेको थियो। त्यस अनुरुप नेपालले ओमान सिरिजसहित ५ जुलाईमा स्कटल्याण्डमा त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको थियो।
नेपालले त्यसपछि २०२२ फेब्रुअरीमा नेपालमा युएई र पपुवा न्यु गिनी सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गर्ने तालिका बनाएको थियो।
आईसीसीले भने विश्व कप लिग २ को सिरिज सरेको अधिकारिक रुपमा जानकारी गराएको छैन।
प्रशिक्षण यथावत
त्रिकोणात्मक सिरिज स्थगित भएता पनि नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणलाई भने निरन्तरता दिने भएको छ।
क्यानले गत साता ३२ सदस्यीय प्रारम्भिक टिम घोषणा गर्दै २१ जना खेलाडीहरुलाई समाबेश गर्दै पहिलो चरणको अभ्यास सुरु गरेको थियो।
शनिवारदेखि सुरु हुने दोश्रो चरणको अभ्यासमा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित, पारस खड्का, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, शरद भेसावकर, सोमपाल कामि, करन केसी, अविनाश बोहरा, कुशल मल्ल र आरिफ शेख जस्ता वरिष्ठ खेलाडीसहित २० । २१ जना खेलाडीहरु सहभागी हुने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी गराउनुभएको छ।
पहिलो चरणमा सहभागी भएका मध्ये ९ । १० जना दोश्रो चरणको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर गुमाउने छन् । तर तिनको नाम सार्वजनिक गरिएको छैन् ।


















