नेत्र केसी /बीबीसी
काठमाडौं, ३० माघ । चीनले अनुदानमा दिने भनेको खोप अझै नेपालमा दर्ताकै प्रक्रियामा रहेको र दर्ता भएपछि मात्रै नेपालमा ल्याउने बाटो खुल्ने अधिकारीहरूले बताएका छन्।
नेपालमा अहिले भारत सरकारले दिएको कोभिशील्ड खोप प्रयोग गरेर कोरोनाभइरसविरुद्ध पहिलो चरणको खोप अभियान सञ्चालन भइरहेको छ।
चीनका अतिरिक्त कोभ्याक्स सुविधामार्फत् खरिद गर्न लागिएको खोप छिट्टै आउने र फागुन अन्तिम सातासम्म उमेर समूहमा खोप कार्यक्रम सुरु गरिने बताइएको छ।
सरकारले माघ १४ गतेदेखि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रपङ्तिमा कार्यरत व्यक्तिहरूलाई खोप दिएर पहिलो चरणको अभियान सुरु गरेको थियो। त्यसअन्तर्गत दोस्रो प्राथामिकतामा राखिएकाहरूको पनि खोप लगाउने कार्यक्रम आज(शुक्रबार) सकिँदैछ।
सरकारको भनाई
सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेका बेला थप खोपको पनि जोहो गरिरहेको जनाएको छ। चीन सरकारले पाँच लाख मात्रा खोप दिने भनिएको छ।
तर उक्त खोप हालसम्म नेपालमा दर्ता भएको छैन। चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘सिनोभ्याक्स’ खोप दर्ताका लागि प्रक्रियामा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो।
भारत र रुसमा उत्पादित दुईवटा खोप पनि नेपालमा दर्ता प्रक्रियामा रहेको बताइएको छ। हालसम्म भारतमा उत्पादन गरिएको कोभिशील्डले मात्रै नेपालमा दर्ता भएर आपत्कालीन प्रयोगको अनुमति पाएको छ।
कोभिड खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’सुविधामार्फत र खरिद प्रक्रियामार्फत् पनि खोप आउने र उमेर समूहअनुसार खोप लगाउन सुरु गरिने प्रवक्ता गौतमले बताउनुभयो।
अब कसको पालो ?
भारतले दिएको खोप अहिलेसम्म झन्डै दुई लाख जनालाई लगाइएको र झन्डै तीन लाखलाई पुग्नेगरी खोप बचेको बताइएको छ।
बाँकी खोप फागुन २ गतेदेखि ८ गते सम्म ७७ वटै जिल्लाका भिडभाड हुने सरकारी कार्यालय, ब्याङ्क, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी, पत्रकार, स्थानीय जनप्रतिनिधि र पहिलो प्राथामिकताको खोप लगाउन छुटेकाहरूलाई दिइने बताइएको छ।


















