Prakash Adhikari February 15, 2021

 

काठमाडौं, ३ फागुन । केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनका विरुद्ध नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको जोर षड्यन्त्रमा भएको प्रतिनिधि सभा विघटनको असंवैधानिक तथा प्रतिगमनकारी कदमविरुद्ध नेपाली कांग्रेसले गरेको यो जिल्ला सदरमुकाम लक्षित पहिलो विरोध प्रदर्शन हो । यस अगाडि नेपाली कांग्रेसले विभिन्न तहमा विरोध प्रदर्शन गरेको थियो ।

नेपाली कांग्रेसले पौष १३ गते प्रतिनिधिसभाको सदस्य निर्वाचन क्षेत्रमा, पौष २५ गते प्रदेश सभाको सदस्य निर्वाचन क्षेत्रमा, माघ ३ गते देशभरका स्थानीय तह(महानगर।उपमहानगर।नगर तथा गाउपालिका)हरुमा, माघ ८ देशभरका सम्पूर्ण वडाहरुमा, माघ १९ गते भातृ संगठनको नेतृत्वमा सम्पूर्ण जिल्लामा र माघ २४ गते शुभेच्छुक सस्थाहरुको अग्रसरतामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको थियो।

नेताहरु को कहाँ ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार तेस्रो चरणको अन्तिम विरोध सभालाई सम्बोधन गर्न सभापति देउवा रुपन्देहीको बुटवल जानहुने भएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ सदरमुकाममा आयोजित आमसभालाई सम्बोधन गर्नुहुने छ भने उपसभापति विमलेन्द्र निधि सप्तरी र महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आज नेता कृष्णप्रसाद सिटौलाले आफ्नै गृह जिल्ला झापामा आयोजित विरोध सभालाई संबोधन गर्नुहुनेछ भने नेता प्रकाशमान सिंहले कास्कीको पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेस नेता डा शेखर कोइराला सुनसरी जिल्लाले धरानमा आयोजना गर्ने कार्यक्रममा सरिक हुनुहुने छ भने नेत अर्जुननरसिंह केसीले काठमाडौंमा संबोधन गर्नुहुने छ ।

आज डा.मिनेन्द्र रिजाल प्युठानमा आयोजित विरोध कार्यक्रममा सहभागी हुनुहुनेछ भने डा. रामशरण महत काभ्रेको आमसभालाई संबोधन गर्नुहुने छ ।
यसरी नै प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदिप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन गर्नुहुने छ ।

सभापति देउवाको अपील

विरोध प्रदर्शनको पूर्व संध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आजको विरोध प्रदर्शनमा सहभागी हुन नेपाली कांग्रेसका समस्त नेता,कार्यकर्ता,शुभेच्छुक,मतदाता र लोकतन्त्रवादीहरुमा आग्रह गर्नुभएको छ ।

उहाँले संसद विघटनको कदमलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै पौषदेखि नै निरन्तर विरोध गर्दै आएको उल्लेख गर्दै भन्नुभएको छ, ‘संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’

Share Now

Leave a comment.