Prakash Adhikari February 16, 2021

 

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसले बैतडी जिल्लाको डिलासैनीमा पार्टीले आयोजना गरेको सभामा मंगलबार अपरान्ह प्रधानमन्त्री के.पी. शर्मा ओली निकट नेकपाबाट भएको नियोजित आक्रमणको निन्दा गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डा.डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा सत्तारुढ पार्टीका कार्यकर्ताबाट ढुंगामुढा प्रहार हुँदा नेकपाको आक्रमणबाट काँग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशीसहित केही सहभागीहरु घाइते भएका छन् ।उनीहरूको टाउकोमा चोट लागेको छ ।आक्रमणकारीले सभास्थलमा राखिएका सवारी साधन समेत तोडफोड गरेका थिए ।

कार्यक्रममा नेकपाबाट जोशीसहित एक सय जना काँग्रेस प्रवेश गरेका थिए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी यस्तो प्रवृत्ति परित्याग गर्न सत्तारुढ नेकपालाई चेतावनी दिंदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्नुभएको छ ।

नेकपा ओली समूहका नेता सुरेन्द्र पालका छोराको नेतृत्वमा गएको समूहले सभा चलिरहेका बेला आक्रमण गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । नेकपाका केही कार्यकर्ता नेपाली कांग्रेसमा  प्रवेश गरेको र उनीहरुले सभामा सम्बोधन गर्ने भएपछि सुनियोजित रुपमा ढुंगामुढा भएको आरोप कांग्रेसले लगाएको छ ।

Share Now

Leave a comment.