काठमाडौं,४ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टलाई उनी पढने विद्यालयको तल्लो कक्षाका विद्यार्थीले हत्या गरेको प्रहरीले पत्ता लगाएको छ । अनुसन्धानका क्रममा अपराध गरेका कबुल गरेपछि प्रहरीले भागरथी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई मंगलबार पक्राउ गरिसकेको छ ।
माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी भागरथी बेलुकासम्म घर नफर्किएपछि खोजीनिती गर्दा भोलीपल्ट उनको शव बलात्कारपछि हत्या भएको अवस्थामा लवलेक जंगलमा भेटिएको थियो ।
दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि आफूले हत्या गरेको साविति बयान दिएका छन् ।
भागरथीको हत्याको घटनामा सुक्ष्म निगरानी गरिरहेको प्रहरीले भारत जान लागेका एक कर्मचारीलाई मंगलबार कञ्चनपुरबाट पक्राउ गरेको थियो । तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए ।
प्रहरीले हाल साविति बयान दिएका भट्टलाई एकपटक सोधपूछ गरेर छाडेको थियो । तर अनुसन्धानको घेरा साँघुरो पार्दै थप निगरानी र केरकारमा दिनेशले अपराध कबुल गरेका थिए । प्रहरीले ‘अहिले प्रमाणसहित पक्राउ गर्न सफल भएको दावी गरेको छ ।
कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन चुकेको नेपाल प्रहरीले सुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाएको थियो भने प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी आफै १० दिनदेखि अनुसन्धानमा अहोरात्र खटिनुभएको थियो ।


















