राष्ट्रिय समाचार समिति (रासस) को ६० औँ वार्षिकोत्सव तथा हीरक वर्ष प्रवेशका अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ती पुरस्कार प्रदान गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक श्रीमती मोहिनी मिश्र रिसाल (केन्द्रीय कार्यालय) र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण (रासस वीरगञ्ज कार्यालय प्रमुख)ले प्राप्त गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासङ्घले मनीन्द्रलाल श्रेष्ठ (राससका पूर्व कर्मचारी) र श्री शरच्चन्द्र भण्डारी (उपप्रमुख समाचारदाता, रासस केन्द्रीय कार्यालय) लाई विशेष सम्मान गरेको छ ।
यस वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ स्थानीय समाचारदाता (स्ट्रिङ्गर) रवीन्द्र काफ्ले (पाँचथर) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ७ हजार ५०० छ । सो पुरस्कार रासस कार्यालय तुल्सीपुर, दाङका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाइका स्मृतिमा स्थापना गर्नुभएको हो ।
रासस कर्मचारी सङ्घले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा (रासस प्रदेश नं २ कार्यालय, जनकपुर) र कार्यालय सहयोगी खिलप्रसाद दाहाल (रासस केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ । त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ दीपराज सन्याल (अङ्ग्रेजी समाचार प्रमुख) र राजेशकुमार श्रेष्ठ (उपव्यवस्थापक, लेखा शाखा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।
१२ राससकर्मीलाई ‘दीर्घ सेवा पदक’
राष्ट्रिय समाचार समिति (रासस) मा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको छ । मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा यहाँ आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो पदक प्रदान गर्नुभयो ।
कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल, कार्यकारी सम्पादकहरू कृष्ण अधिकारी, एकराज पाठक, सूर्यचन्द्र बस्नेत, दिलीप अधिकारी र शीतलप्रसाद महतो, बाग्मती प्रदेश प्रमुख सुरेशकुमार झा, उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारी, वरिष्ठ समाचारदाताहरू हिमांशुकुमार चौधरी, प्रभाषचन्द्र झा, राजाराम कार्की र विष्णुप्रसाद नेपालले पदक प्राप्त गर्नुभयो ।
‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो ।


















