जनकपुरधाम(धनुषा), ८ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद पुनःस्थापनाको विकल्प देशसंग नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
‘हामीले संविधान निर्माण गर्दा स्पष्ट शब्दमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभया, ‘संविधानमा भएको व्यवस्था नै सर्वोच्च अदालतका न्यायधीशहरूले व्याख्या गर्ने हो । त्यसैले अधिकार नै नभएको प्रधानमन्त्रीले कसरी संसद् विघटन गर्न सक्छ ? त्यसैले पुनस्र्थापनको विकल्प छैन ।’
संसद् विघटनको निर्णयलाई सर्वोच्चले सदर गरेमा संविधानको कुन धारा, उपधारा प्रयोग गरेर सदर गरियो भन्ने कुरा आमनागरिकले बुझ्ने भाषामा प्रष्ट जानकारी गराउनु पर्ने उहाँको भनाइ थियो ।
न्यायधीशले विवेकपूर्ण निर्णय गर्ने उहाँको विश्वास छ । यदी संसद् पुनस्र्थापना नभए वैशाखमा निर्वाचन हुने अवस्था नरहेको भन्दै नेता कोइरालाले त्यसपछि यो संविधानले व्यवस्था गरेको राजनीतिक पद्धति नै धरापमा पर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेसको १४औं महाधिवेशनबाट आफू सभापति बन्ने दाबी समेत गर्नुभयो । अबको महाधिवेशनमा सभापतिको उम्मेदवार हुने र निर्वाचित भएर एक कार्यकालको मात्रै पार्टीको नेतृत्व गर्ने उहाँको भनाइ छ ।


















