डेन्भर, ९ फागुन (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन् ।
विमानको इन्जिनमा आगो लाग्न थालेसँगै विमानको बाहिरी भागबाट अवशेषहरु उछिट्टिएर भुँइमा खसेका थिए । अधिकारीहरुले विमानका चालकले आपतकालीन अवतरण गर्न विमानस्थलको टावरसँग सम्पर्क गरेर तत्कालै विमानलाई डेन्भर विमानस्थलतर्फ फर्काएका थिए ।
Had a front row seat to the entire engine failure on United flight 328. Kinda traumatized to fly United more. #UnitedAirlines pic.twitter.com/5KdJn1BGfV
— Chad Schnell (@ChadSchnell) February 20, 2021
विमानभित्रका यात्रुले खिचेको तस्वीर एवं भिडियोमा बोइङ ७७७–२०० को उक्त विमानको दायाँतर्फको इन्जिनमा ठूलै आगोको मुस्लो देखिएको थियो । आगोका कारण इन्जिनको बाहिरी कभर खुस्किएर उछिट्टिएको थियो । विमानमा २३१ जना यात्रु र १० जना चालक दलका सदस्य थिए ।
विमानमा सवार वा जमिनका कुनैपनि व्यक्तिलाई चोटपटक नलागेको अधिकारीहरुले बताएका छन् ।
विमानमा सवार यात्रु डेभिड डेलुसियाले डेन्भर पोस्टलाई प्रतिक्रिया दिँदै आफूहरुलाई एक पटक बाँच्छु भनेर आशा नै नभएको बताउनुभएको छ ।
युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दैै डेन्भरबाट होनोलुलुतर्फ उडेको विमानमा इन्जिनमा समस्या देखिएको तर विमानलाई सकुशल डेन्भर फर्काइएको जनाएको छ ।
विमानका पाइलटले “विमानको इन्जिनमा आगो लागेकाले तत्कालै फर्कन अनुमति पाऔं” भन्दै टावरसँग सम्पर्क गरेका थिए ।



















