Prakash Adhikari February 24, 2021

 

काठमाडौं, १२ फागुन । संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहले आज देशभर विजय जुलुस र सभा गर्ने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिनुभएको जानकारी अनुसार जिल्ला जिल्लामा स्थानीय जिल्ला कार्य समिति र संघर्ष समितिको आयोजना अनुकूलता अनुसार बिहान ८ बजेदेखि नै कार्यक्रमहरु भैरहेका छन् ।

https://twitter.com/bishnurijal1/status/1364379805282488320

संघर्ष समितिले राजधानीमा भने मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा विजय सभा आयोजना गर्ने भएको छ ।

सो सभामा सहभागी हुन चितवनमा रहनुभएका नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि आउदै हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड दाहाल समूहले परिवर्तित अवस्थामा पार्टीले लिने रणनीति र संसद सञ्चालनका सम्बन्धमा आगामी रणनीति तय गर्न आजै पार्टीका सांसदहरुको आकास्मिक बैठक बोलाएको छ ।

प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाएको जानकारी दिनुभएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री के.पी. शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पौष ५ मा षड्यन्त्रमूलक ढंगबाट भएको प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको फैसला गरेको छ ।

सर्वोच्च अदालतले १३ दिनभित्र संसद्को बैठक बोलाउन विपक्षीका नाममा आदेश समेत जारी गरेकोले संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावको स्थितिको वैधानिकता र प्रधानमन्त्री हटाउने लगायतका विषय सहित पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रीय समितिको बैठक लगायतका विषयमा छलफलको चटारो नेपाल कम्युनिष्ट पार्टीलाई आइपरेको छ ।

Share Now

Leave a comment.