नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग उहाँकै निवास बुढानिलकण्ठमा भेटवार्ता गर्नुभएको छ ।
बुधबार दिउँसो सबा एक बजे देउवा निवास पुग्नुभएका नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल १ : ३५ बजे त्यहाँबाट बाहिरिनुभएको थियो ।
देउवाका सहयोगी भानु देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि विकसित राजनीतिक घटनाक्रम र आगामी कार्यदिशाका बारेमा नेकपाका अध्यक्षहरुले सभापति देउवासँग छलफल गर्नुभएको बताउनुभएको थियो ।
भेटवार्तामा आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने सहमति भएको बताइएको छ । नेताहरुबीच आआफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्नेबारे कुरा भएको बताइएको छ ।
नेकपाका अध्यक्षद्धयले आपसी समझदारी गरेरै अगाडि जाने विषयमा कुराकानीको थालनी गर्नुभएको थियो कांग्रेस सभापति देउवाले भने कसरी बढ्ने भन्नेबारेमा पार्टीभित्र आन्तरिक छलफल गरेर आधिकारिक निर्णय लिइने बताउनुभएको थियो ।
नेपाली कांग्रेसका सभापति देउवाले बिहीबार अपरान्ह ३ बजे पदाधिकारी बैठक बोलाउनुभएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वी तराईको भ्रमममा हुनुहुन्छ । उहाँ आज साँझसम्म काठमाडौं आइपुग्ने बताइएको छ।
कांग्रेस नेता पौडेलसंग पनि नेकपाका अध्यक्षहरुले टेलिफोनमा कुराकानी गर्नुभएकोे बताइएको छ ।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको पदबाट विस्थापन गर्न गत पुस ५ गते प्रतिनिधिसभामा अविश्वासको प्रस्तावसमेत दर्ता गरिसकेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहले पार्टीको अधिकांश सांसद, सचिवालय सदस्य,स्थायी समिति र केन्द्रीय समितिलाई साथ लिएर राजनीतिक जिम्मेवारी सम्हाल्ने भन्नेमा आन्तरिक छलफल चलाएका छन्।
आज पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिरहेको स्थायी कमिटीको अनौपचारिक बैठकमा यस विषयमा छलफल भैरहेको बताइएको छ भने आजै अपरान्ह ४ बजे संसदीय दलको पनि बैठक बस्न भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ मा आफूमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि उक्ता उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस र नेकपाकै प्रधानमन्त्री ओलीविरोधी समूह निरन्तर आन्दोलनमा लागेको थियो ।
प्रधानमन्त्री ओलीको सिफारिस र त्यसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभाको विघटन तथा नर्या निर्वाचनको घोषण दुवै कार्य नेपालको संविधानविपरित भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलाशले मंगलबार प्रधानमन्त्री ओलीको कदमलाई बदर प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले फैसला भएको मितिले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन विपक्षी प्रधानमन्त्री, राष्ट्रपति र प्रतिनिधिसभाका सभामुखको नाममा आदेश समेत जारी गरेकोले अब संसद बैठक राख्ने र नयाँ सरकार गठनका लागि कसरी जाने भन्ने विषयमा दलहरु आपसी परामर्शमा जुटेका हुन् ।


















