Prakash Adhikari February 27, 2021

वाशिंटन डी.सी(संयुक्त राज्य अमेरिका), १५ फागुन(बीबीसी) । अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ।

बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई पक्राउ गर्न अथवा हत्या गर्ने योजनालाई स्वीकृति दिएका थिए।

अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन।

साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई नकारात्मक, झुटो र अस्वीकार्य बताएको छ।

अस्वीकार

साउदीमा प्रमुख नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले खसोग्जी हत्यामा आफ्नो कुनै पनि भूमिका रहेको भन्ने अस्वीकार गर्नुुभएको छ।

खसोग्जी इस्तानबुलमा रहेको कन्सुलेट भ्रमण गर्दा टर्कीमा मारिनुभएको थियो र उहाँको शरीर टुक्रा टुक्रा पारिएको थियो।

५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार हुनुहुन्थ्यो र राज परिवारसँग निकट पनि । तर पछि उहाँ टाढिनुभयो र स्वनिर्वासनमा सन् २०१७ मा अमेरिका पुग्नुभयो।

त्यहीँ उहाँले वाशिङ्टन पोष्टका लागि मासिक स्तम्भ लेख्नुहुन्थ्यो जसमा उहाँले युवराज मोहम्मदको नीतिहरूको आलोचना गर्नुहुन्थ्यो ।

 

रिपोर्टमा के छ ?

 

अमेरिकी गुप्तचर निकायको निर्देशकको कार्यालयले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा साउदी पत्रकारलाई पक्राउ गर्न या हत्या गर्ने योजना अनुमोदन गरेका थिए भन्ने हाम्रो ठम्याइ छ।’

युवराज साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुनुहुन्छ र उहाँलाई देशको प्रभावशाली शासकका रूपमा लिइन्छ।

गुप्तचर रिपोर्टले उक्त कारबाही साउदी युवराजले गराउनुभएको भन्ने निष्कर्षमा पुग्न तीनवटा कारण देखाएको छ।

सन् २०१७ देखि साउदीमा निर्णय प्रक्रियामा उनको पकड

हत्यामा उनको एकजना सल्लाहकार र उनका अङ्गरक्षकहरूको प्रत्यक्ष संलग्नता

र उनको विदेशमा भागेकाहरूलाई हिंसात्मक उपाय अपनाएर पनि चुप बस्न लगाउने

कुरामा समर्थन

रिपोर्टमा खसोग्जीको हत्यामा संलग्न भनेर आरोपितहरूको नाम पनि उल्लेख गरिएको छ।

तर रिपोर्टमा भनिएको छ, ‘उनीहरू कहिलेदेखि त्यसमा संलग्न थिए भन्ने चाहिँ हामीलाई थाहा छैन।’

साउदी अधिकारीहरूले ती पत्रकारलाई देशमा फर्काउन पठाइएको समूहले गरेको गलत कारबाहीका कारण मारिएको आरोप लगाउँछन् र गत सेप्टेम्बर महिनामा साउदी अदालतले पाँचजनालाई पहिले फासी तर पछि बीस वर्षको जेल सजाय सुनाएको थियो।

सन् २०१९ मा संयुक्त राष्ट्र संघीय विशेष दूत एगनेस कालामार्डले साउदी राज्यलाई खसोग्जीको हत्या गराएको भन्दै न्यायालयको दुरुपयोग गरेको आरोप लगाउनुभएको थियो।

बाइडन

यसले साउदी अमेरिका सम्बन्धमा के अर्थ राख्छ ?

रिपोर्ट सार्वजनिक भए लगत्तै अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले केही साउदीहरूमाथि यात्रा प्रतिबन्धहरू घोषणा गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘रिपोर्टमा नाम उल्लेख भएकाहरू गम्भीर क्रियाकलापमा प्रत्यक्ष सहभागी थिए।’

उहाँले ‘कुनै पनि विदेशी सरकारले फरक विचार राख्नेहरूमाथि निशानाबाजी गर्छ भने तिनलाई अमेरिका आउन नदिइने’ चेतावनी दिनुभयो।

त्यसैगरी अर्थ मन्त्रालयले युवराज नजिक रहेका उहाँका एक अङ्गरक्षक र पूर्व गुप्तचार उप प्रमुख अहमद असिरि र हत्यामा संलग्न केही उहाँका अङ्गरक्षकहरूमाथि प्रतिबन्ध लगाएको छ।

सन् २०१८ मै सीआईएले युवराज नै हत्या गर्ने आदेश दिएको विश्वास गरेको बताइएको थियो तर अहिलेसम्म अमेरिकी सरकारले त्यस बमोजिमको रिपोर्ट सार्वजनिक गरेको थिएन।

विश्वकै सबभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबिया मध्यपूर्वमा अमेरिकाको एक प्रमुख समर्थक मुलुक हो।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा साउदी अरेबियामा मानव अधिकार विधिको शासनबारे कडा अडान लिने ठानिएको छ।

बिहीवारको फोन वार्ताका बेला राजा सलमानसँग राष्ट्रपति बाइडनले मानव अधिकार र विधिको शासनमाथि अमेरिकाले दिने महत्त्वबारे जोड दिएको ह्वाइट हाउसले जनाएको छ।

रोयटर्स समाचार संस्थाले उदृत गरेका समाचार स्रोतले बाइडन प्रशासनले हतियार संझौता रद्द गर्ने सम्मका कुराहरू भइरहेका छन्।

अमेरिकी रिपोर्ट अस्वीकार गर्दै साउदी विदेश मन्त्रालयले हत्यामा संलग्नहरूको अनुसन्धान गरेर न्याय प्रदान गरिसकिएको बताएको छ।

विदेश मन्त्रालयले भनेको छ, ‘यो रिपोर्ट सही छैन साउदीले उक्त अपराधको अनुसन्धान गरेर दण्ड समेत दिइसकेको अवस्थमा यस्तो रिपोर्ट आउनु दुर्भाग्यपूर्ण छ।’

‘देशको नेतृत्वमाथि सार्वभौमस्तामाथि र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने कुनै पनि कार्य’अस्वीकार्य छ।

 

Share Now

Leave a comment.