काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ।
दुई सदस्यीय वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले निकालेको विज्ञप्तिमा उल्लेख छ।
यसै साता आफ्नो गृह जिल्ला झापा पुगेर प्रधानमन्त्री ओलीले छिट्टै विप्लव समूहसँग वार्ता हुने बताउनुभएको थियो।
प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘तपाईँ त्यो खबर छिट्टै घर बसी बसी सञ्चारमाध्यममा देख्नुहुनेछ।’
हाल सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।
मङ्गलवार जारी गरिएको विज्ञप्तिमा वार्ताद्वारा समस्या समाधान गर्न वार्ता टोली गठन गरिएको उल्लेख गरिए पनि प्रतिबन्ध फुकुवा गर्ने विषयमा केही उल्लेख गरिएको छैन।
सरकारले बिप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न वार्ता समिति गठन गरेकाे
छ –
संयाेजक – रामबहादुर थापा बादल, गृहमन्त्री
सदस्य- डा. राजन भट्टराई, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार
१८ फागुन २०७७— Surya Thapa (@ThapajiSurya) March 2, 2021


















