Prakash Adhikari March 2, 2021

 

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

मंगलबार अपरान्ह अस्पतालले दिएको जानकारी अनुसार उहाँले आफै स्वास फेर्न थाल्नुभएको छ ।

नेता जोशीको अवस्थामा सुधार भएपछि सोमबार बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिनुभएको छ।

‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ। मेसिनले सास फेराउनु परेको छैन’, डा. झाले भन्नुभयो, ‘उहाँको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ।’

बिहीबार राति अचानक मस्तिष्काघात भएपछि उहाँलाई बीर अस्पताल लगिएको थियो । उहाँको मस्तिष्कमा रगत जमेको पत्ता लागेपछि उहाँलाई शल्यक्रियाका लागि नर्भिक अस्पताल रेफर गरे अनुसार त्यहाँ भर्ना गराई शल्यक्रिया र औषधोपचार गरिदैं आएको छ ।

उहाँलाई श्वासप्रश्वासमा सजिलो होस् भनेर बुधबार बिहान नेता घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने योजना रहेको डा. झाले बताउनुभएको छ।

‘यस्ता गम्भीर बिरामीलाई श्वास फेराउन मुखबाट लामो पाइप हाल्न नपरोस् भन्ने उद्देश्यले घाँटीमा सानो प्वाल पार्ने सर्जरी गर्न लागेका हौं’, डा.झाले भन्नुभयो, ‘त्यसपछि उहाँलाई हामीले बिस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको छ।’

नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको छैन। उहाँ खतरामुक्त हुन केही हप्ता लाग्ने चिकित्सकहरुले बताएका छन् ।

Share Now

Leave a comment.