काठमाडौं, २० फागुन । ऋषि कट्टेलले दर्ता गराएको नेपाल कम्युनिष्ट पार्टी नामको पार्टीको नामसंग मिल्दोजुल्दो हुने गरी निर्वाचन आयोगले सत्तारुढ दललाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्न दिएकोले आफ्नो पार्टीलाई आधिकारिकता दिन सर्वोच्च अदालतको ढोका पुग्नुभएका ऋषि कट्टेलले फैसलाको लागि अर्को दिन कुर्नुपर्ने भएको छ ।
सर्वोच्च अदालत लगायत नेपालका सबै तहका अदालतहरु आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको हो ।
पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकोले शोक मनाउन आज एक दिन सबै तहका अदालत बन्द गर्ने निर्णय सर्वोच्च अदालतले गरेको छ ।
गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नाममा दर्ता भएको थियो ।
यस अगाडि नै ऋषिराम कट्टेलले निर्वाचन आयोगमा आफ्नो नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गरिसक्नुभएको थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गर्नुभएको थियो ।
आज निर्णय सुनाउने(निसु)मा रहेको सो मुद्दाको फैसला कहिले सार्वजनिक हुन्छ, त्यस अनुसार सत्तारुढ दलको विभाजन प्रक्रिया अगाडि बढ्ने संभावना थियो ।
कट्टेलको पार्टीलाई आधिकारिक वैधानिकता दिएर सत्तारुढ पार्टीलाई अर्को नाम लिन निर्देशन आउने अवस्थामा विभाजनको डिलमा पुगेको नेकपा संसदीय दल विभाजन भई तुरुन्तै दुई पार्टी बन्ने अवस्था छ ।
सर्वोच्चको फैसलामा विलम्ब हुँदा निर्वाचन आयोगमा परेको विवादको आधारमा यसको निरुपण हुन सक्छ ।
आयोग पनि विवादमा छिर्न नचाहेमा भने २३ गतेदेखि सुरु हुने अधिवेशनमा ल्याउन सकिने अविश्वासको प्रस्तावको मतदानमा हुने विभाजनले सत्तारुढ नेकपाको विभाजन गर्ने देखिन्छ ।
निर्वाचन आयोगलाई आफ्नो क्षेत्राधिकारमा परेको विवाद निर्भयतापूर्वक नेपालको संविधान,राजनीतिक दलसम्बन्धी कानून, निर्वाचन आयोगका कानून र विगतका अभ्यासका आधारमा छिटो टुंग्याएर राजनीतिक निकास दिनुको साथै निर्वाचन आयोगको साख र पदाधिकारीहरुको योग्यता र क्षमता प्रदर्शन गर्न आयोगको जिम्मेवारी कुशलतापूर्वका सम्हाल्नुभएका पाँच जना पूर्वप्रमुख आयुक्तहरुले सार्वजनिक विज्ञप्ति पनि प्रकाशित गरिसक्नुभएको छ ।



















