Prakash Adhikari March 5, 2021

 

काठमाडौं, २१ फागुन(बीबीसी) । नयाँ जनवादी सत्ता कायम गर्ने उद्घोषको साथ सशस्त्र विद्रोहमा लाग्नुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार एक औपचारिक कार्यक्रममार्फत सशस्त्र युद्धको धड.धड.ी त्यागेर शान्तिपूर्ण राजनीतिको मार्गमा अवतरण गर्नुभएको छ ।

सरकार र सो पार्टीबीच तीन बुँदे सहमति भएको भोलिपल्ट उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चमा उपस्थित हुनुभयो।

समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई नेपाली राजनीतिको ‘एउटा नयाँ दिन’ भन्ने नाम दिनुभयो।

सहमति भएको तीन बुँदाप्रति प्रतिबद्ध रहेको र त्यसलाई पालना गर्ने चन्दले बताउनुभयो।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिलाई ठूलो सफलताको सङ्ज्ञा दिनुभएको थियो।

साहसिक कदम चालेको भन्दै प्रधानमन्त्रीले नेकपाका महासचिव चन्दलाई धन्यवाद पनि दिनुभयो।

भेट
भेट

प्रम ओलीको भनाई
‘आज एउटा ऐतिहासिक काम भएको छ। अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन।’

‘अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक कार्यदिशा कसैले अवलम्बन गरेको छैन।’

‌ओली

ओली

आगामी दिनमा चन्द नेतृत्वको नेकपाले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि गर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्‍याएर उसका नेता तथा कार्यकर्तालाई छोडिने बताउनुुभयो।

प्रधानमन्त्री ओलीले सरकार र नेकपाबीच रातारात सहमति नभएको उल्लेख गरे।

‘रातारात होइन। वर्षौँदेखि वार्ता चलिरहेको थियो।’

चन्दको भनाई

‘यो सहमति केवल सरकार र नेकपाको कुरा मात्रै होइन। यो सहमतिपछाडि एउटा महान् आकाङ्क्षा छ’, उहाँले थप्नुभयो।

‘नेपाली जनताका चाहना अझै पूरा नभएको र शहीदको सपना मर्न नदिने’ उहाँले उल्लेख गर्नुभयो।

उहाँले सरकार र आफ्नो पार्टीबीच सहमतिमा सघाउने सबैलाई धन्यवाद दिनुभयो।

यसअघि प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको उहाँले खुलासा गर्नुभयो।

विप्लव

विप्लव

जनता के चाहन्छन् भन्ने विषयमा जनमत बुझ्न अझै आवश्यक रहेको उहाँको भनाइ छ।

‘हामीले एकचोटि त्यसका लागि आँट गर्नुपर्छ।’

‘म सबैलाई आग्रह गर्न चाहन्छु जुन अवसर हामीले प्राप्त गरेका छौँ त्यसलाई जनताको हितमा सार्थक बनाऔँ।’

सहमतिपत्रमा हस्ताक्षर

शुक्रबारको हस्ताक्षर कार्यक्रमअघि चन्द प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए।

२०७५ सालको फागुन अन्तिम सातातिर प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारले सरकारले सो पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।

सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोली संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाको तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गर्नुभएको छ।

हस्ताक्षर कार्यक्रममा सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले तीन बुँदे सहमतिमा उल्लिखित बुँदाहरू पढेर सुनाउनुभएको थियो।

उहाँका अनुसार सहमतिमा पुग्नुअघि सरकार र नेकपाबीच झन्डै एक वर्षदेखि विभिन्न तहमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छलफल हुँदै आएका थिए।

नेकपाको तर्फबाट वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले शुक्रवार ऐतिहासिक दिन भएको भन्दै आजको दिनले नेपालको इतिहासमा एउटा योगदान दिने बताउनुभएको थियो।

Share Now

Leave a comment.