Prakash Adhikari March 8, 2021

कीर्तिपुर(काठमाडौंं),२४ फागुन । काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर ११ विरुद्धको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले काठमाडौँ मेयर ११ लाई पाँच विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर ११ ले ४२ दशमलव एक ओभरमा सबै विकेट गुमाएर १५५ रन बनायो । एक सय ५६ रनको विजय लक्ष्य आर्मी क्लबले २३ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

आर्मीका लागि सोमपाल कामीले ५१ बलमा नौ चौका र ६ छक्काको मद्दतमा ८०, भीम सार्कीले १६, कुशल मल्लले २३ तथा कप्तान विनोद भण्डारीले अविजित २० रन बनाउनुभयो । बलिङतर्फ काठमाडौँ मेयर ११ का सन्दीप लामिछाने र विपिन कार्कीले दुई दुई विकेट लिनुभयो ।

यसअघि ब्याटिङ गर्ने क्रममा काठमाडौँ मेयर ११ का लागि सौरभ खनालले ४२, सन्दीप रजालीले ३७, खडक बोहराले १९ हरिशङ्कर साहले १८ तथा कप्तान सन्दीप लामिछानेले १३ रन बनाउनुभयो ।

बलिङतर्फ आर्मीका लागि साहब आलमले चार, जितेन्द्र मुखियाले तीन तथा सोमपाल कामी, विक्रम सोव र कुशल मल्लले एक÷एक विकेट लिनुभयो । प्लेयर अफ दी म्याच आर्मीका सोमपाल कामी घोषित हुनुभयो । उहाँले रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

Share Now

Leave a comment.