काठमाडौँ, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुग्नुभएको छ ।
नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकलगत्तै प्रचण्ड देउवासँगको भेटघाटका लागि बुढानीलकण्ठतर्फ जानुभएको हो ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसदको चालु अधिवेशन, वर्तमान सरकारको विस्थापन र नयाँ सरकारको गठनको सम्बन्धमा संसदमा रहेका सबै राजनीतिक दलहरुसंग छलफल गर्ने निर्णय गरेको थियो ।
बैठकमा सर्वोच्च अदालतको २३ फागुनको निर्णयले एकीकृत नेकपालाई विभाजन गरी पूर्वअवस्थामा पुर्याएकोले असंवैधानिक कदम चालेर प्रतिनिधिसभाको हत्या गर्ने प्रगिगमनकारी वर्तमान सरकारलाई विस्थापन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गर्ने सम्मका विषयमा छलफल भएको थियो ।
सर्वोच्च अदालतको २३ फागुनको फैसाला पछि नेपाली कांग्रेसका सभापति र शीर्ष नेताहरुको विचार सार्वजनिक भएको छैन् । यद्यपि त्यसको केही पहिले एक कार्यक्रममा कांग्रेस सभापति देउवाले संसदीय शासन पद्धतिमा प्रतिपक्षी दल गभर्मेण्ट इन वेटिड. हुने र प्रतिप्रक्षी दलको नेता वेटिड. प्रधानमन्त्री भएको बताउनु भएको थियो ।
फागुन ११ को फैसलाले प्रतिनिधिसभा व्यूतिएपछि नेपाली कांग्रेस सत्तामा जाने कि नजाने आफू अग्रसर भएर अविश्वासको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा चलेको विवादका बीचमा सभापति देउवाले दिनुभएको उक्त अभिव्यक्तिलाई सांकेतिक अभिव्यक्ति मानिएको थियो ।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभाको हत्या गर्ने प्रतिगामी कदम चालेकोले यो सरकारलाई वर्तमान प्रतिनिधिसभाले शीरमा बोकेर हिड्न नसक्ने भएकोले प्रधानमन्त्री विस्थापन गर्न अदालतले ब्यूताएको एमाले बाहेकका दलहरु एकजुट हुने संभावना बलियो छ ।


















