काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने प्रयास कतैबाट गर्न नहुने बताउनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
परिषद्का अध्यक्ष तथा रक्षामन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाली सेनालाई अनावश्यक विवादमा तान्न खोज्ने वा अपमान, प्रोभोक गर्न खोज्ने अझ घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति देखिन्छ । अनुत्तरदायी ढंगले सेनालाई हिलो छ्याप्नु हुँदैन । कानुन उलंघन सेनाले गरेको छ भने हेर्ने निकाय छँदैछन् । तर वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न हुन्न ।’
प्रधानमन्त्री ओलीले न्यायोचित सैन्य शक्तिको प्रयोगमा जोड दिँदै सैन्य शक्ति सदैव राष्ट्रिय हितका लागि प्रयोग हुने बताउनुभयो ।
सो अवसरमा सेनाको प्रसंशा गर्दैै ओलीले प्रतिरक्षा सुरक्षा, निर्माणजन्य र सेवा जन्य काम सेनाले गर्दै आएको भन्दै पहरासँग टकराउन पनि सेनाले मात्रै सक्ने बताउनुभयो ।
‘अप्ठेरो पर्दा हामी सेनालाई सम्झन्छौं । सेनाको गौरवपूर्ण इतिहाहास छ’, ओलीले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अरुले खल्बल्याएको शान्ति स्थापनामा सेनाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’
प्रधानमन्त्री ओलीले पृथकतावादी आन्दोलनलाई अघिल्लो वर्ष सरकारले टुंग्याएको स्मरण गर्दै हालैमात्र आन्तरिक हिंसा पनि सकिएको दावी गर्नुभयो ।
‘पृथकतावादी आन्दोलनलाई हामीले अघिल्लो वर्ष टुङ्ग्यायौँ ।
यो वर्ष आन्तरिक हिंसा सकिएको छ । हिंसामा हिँड्नेलाई शान्तिपूर्ण बाटोमा ल्यायौं’, प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी शान्तिपूर्ण युगमा सम्पूर्ण ढंगले प्रवेश गरेका छौं ।’
छिमेकी देशसँग सुमधुर सम्बन्ध कायम गर्न सरकार लागिपरेको भन्दै ओलीले तीव्र विकाससँगै समृद्ध नेपाल सुखी नेपालीको चाहना पूरा गरिने दावी गर्नुभयो ।


















