Prakash Adhikari March 10, 2021

जेरुसेलम(इजरायल), २६ फागुन (रासस/एएफपी) । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले पहिलो पटक युनाइटेड अरब इमिरेट्स (यूएई)को औपचारिक भ्रमण गर्नुहुने भएको छ  ।

दुई देशका बीचमा आपसी सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमति भएकाले बिहीबार उहाँले यूएईको भ्रमण गर्नुहुने भएको हो ।

नेतान्याहुका एक जना उच्च सरकारी अधिकारीले उहाँको भ्रमण निश्चित भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उहाँले यसअघि नै यूएईसँगै बहराइनको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि इजरायलमा लकडाउन कायमै रहेको र विमान सेवासमेत बन्द भएकाले उहाँले त्यतिबेलाको भ्रमण स्थगित गर्नुभएको थियो ।

“यूएईका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकार गर्दै भ्रमणमा जान लाग्नु भएको हो, भ्रमण दुई देशबीचको सम्बन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि गरिएको छ,” नेतान्याहुको कार्यालयका एक उच्च अधिकारीले भनेका छन् ।

सन् २००९ देखि लगातार इजरायली राजनीतिको केन्द्रमा रहनु भएका नेतान्याहुको भ्रमणलाई विश्वभरीबाट महत्व र चासोका साथ हेरिएको छ ।

भ्रमणका क्रममा उहाँले यूएईका नेता शेख मोहम्मद बिन जायद अल नाह्यानलाई अबुधाबी विमानस्थलमा भेट्नुहुने छ ।

उहाँले जेरुसेलममा फर्केपछि हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्बानसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
–––

Share Now

Leave a comment.