काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादीका नेताहरुबीच भएको राजनीतिक परमर्श बैठक सम्पन्न भएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टीबाट नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिनुपर्ने प्रस्ताव आएको बताउनुभएको छ ।
‘कांग्रेस, माओवादी जसपा एक ठाउँमा उभिनुपर्छ भन्ने उहाँ (जसपा) को कुरा आयो’ सो बैठकपछि सञ्चारकर्मीहरुसंग प्रवक्ता शर्माले बताउनुभयो।
यस पहिले नेपाली कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीको बैठकले पनि केपी शर्मा ओली नेतृत्वको सरकारको उचित विकल्पमा जानुपर्ने निर्णय गरेको थियो ।
शुक्रबार नै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुको बैठकले पनि संविधान र राजनीतिक व्यवस्था जोगाउनको लागि प्रतिनिधिसभाको हत्या गर्ने प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको बर्तमान सरकारको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको थियो ।
कांग्रेससँगको छलफलमा भावी सरकारको गठनसहित आफ्नो पार्टीको मुख्य मागको रुपमा रहेको मधेश आन्दोलनका क्रममा जेल पर्नुभएका कार्यकर्ताहरु छुट्नुपर्ने विषय आफूहरुले राखेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताउनुभयो ।
सर्वोच्च अदालतको फागन ११ गतेको फैसलाले असंवैधानिक तवरले विघटन गरिएको प्रतिनिधि सभा ब्युताएको र २३ गतेको फैसलाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकीकरण प्रक्रिया नमिलेको भन्दै पूर्ववर्त नेकपा एमाले र माओवादी पार्टी अस्तित्वमा आउने निर्णय भएपछि समाजवादी जनता दल आगामी राजनीतिक मार्ग तय गर्न अग्रसरता देखाउदै आएको छ ।
यसै क्रममा शुक्रबार भएकोजनता सामाजवादी पार्टीको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले आफूहरुकै नेतृत्वमा सरकार बनाउने विषयमा पनि बैठकमा छलफल भएको बताउनुभएको थियो ।
तर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नेपाली कांग्रेससंग कुनै छलफल नभएको बताउनुभएको छ ।


















