काठमाडौं, २९ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले) का अध्यक्ष के.पी.शर्मा ओलीले पार्टी विभाजन गर्न लागेको भन्दै पार्टीभित्रकै असन्तुष्ट समूहले देशभरका कार्यकर्ताको राजधानीमा भेला गर्ने भएको छ ।
केन्द्रीय कमिटी मा बहुमतमा रहेको असन्तुष्ट समूहको आज बानेश्वरमा बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।
सो बेठकमा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि पार्टीभित्रका सवै पक्षलाई एकताबद्ध भएर पार्टी र देश तथा जनताको सेवामा लाग्न आह्वान गर्नुपर्नेमा शुक्रबार सरकारी निवासमा पार्टीका आफूप्रति वफादार केन्द्रीय सदस्यहरु भेला पारेर आफूखुसी महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई बर्खास्त गर्ने, मनपरी जिम्मेवारी हेरफेर गर्ने र अन्यपार्टीका सांसदहरुलाई पार्टीको साधारण सदस्यता नदिईकन केन्द्रीय समितिमा मनोनयन गर्ने कार्य गरेकोमा सदस्यहरुले असन्तुष्टि जनाएका थिए ।
‘ओलीको कदम विधि प्रणाली र प्रक्रिया अवलम्बन गरेको छैन। गुटको मान्छे बोलाएर कथित निर्णय गरेको छ। सर्वोच्चको निर्णयविपरीत माओवादी केन्द्रका नेतालाई समेत पार्टीमा मनोनयन गरेको छ। त्यो पनि अवैध हो’ बुटवल महाधिवेशनबाट निर्वाचित हुनुभएका पार्टीका उपाध्यक्ष डा. भीम रावलले भन्नुभयो, ‘ओलीको कदमलाई हामीले अस्वीकार गरेका छौँ।’
उहाँले चैत्रको दुईदिने भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको जानकारी दिनुभएको छ ।
उपाध्यक्ष डा. रावलका अनुसार प्रधानमन्त्री ओलीको एकलौटी निर्णयले पार्टी फुटाउने र कम्युनिस्ट आन्दोलन कमजोर बनाउने काम गरेको बैठकले ठहर गरेको छ ।
प्रधानमन्त्री ओलीको पूर्वाग्रहप्रेरित र कम्युनिष्ट आन्दोलन तथा पार्टीलाई विभाजित गरी समाप्त गर्ने आत्मघाती कदमविरुद्ध नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले वक्तव्य जारी गर्दै सम्पूर्ण कार्यकर्ताहरुलाई पार्टी एकताका लागि दवाव दिन र मुलुकलाई प्रतिगमनको बाटोमा जानबाट रोक्न आह्वान गरिने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र एकता र समन्वयको मार्गको खोजि भैरहेको बेला प्रधानमन्त्री ओलीले शुक्रबार आफू निकट केन्द्रीय सदस्यहरुको बैठक सरकारी निवास बालुवाटारमा बोलएर बुटबल महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुमध्ये आफू र महासचिव ईश्वर पोखरेललाई बाँकी राखी अरुलाई बर्खास्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीमा शीर्षनेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल निकट नेताहरुको जिम्मेवारी खोसेर आफ्ना अन्धभक्तहरुलाई दिनुभएको छ ।
त्यस्तै अध्यक्ष ओलीले माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले पूर्वाग्रहपूर्वक काम कारबाही गर्न थालेपछि बसेको नेपाल खनाल पक्षीय केन्द्रीय कमिटीका सदस्यहरुको बैठकले समानान्तर कमिटी गठन गरेको छ।
जसअनुसार प्रदेश १ को संयोजकको जिम्मा भीम आचार्य, प्रदेश २ को घनश्याम भुसाल, वागमती प्रदेशको अष्टलक्ष्मी शाक्य र गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई दिइएको छ। यस्तै लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवाली र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ।
बैठकले रघुजी पन्त युवा विभाग, गोकर्ण बिष्टलाई विद्यार्थी विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला विभाग र प्रमेश हमाल बुद्धिजीवी विभागको प्रमुख तोकेको छ।
नेकपाका अध्यक्ष के.पी. ओलीले चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ।