Prakash Adhikari March 14, 2021

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पाटी सरकारको नेतृत्व गर्ने जिम्मवारीबाट नभाग्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको महिला विभागद्धारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताउदै काग्रेस सभापति देउवाले भन्नुभयो, ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन। र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।

कार्यक्रममा उहाँले कम्युनिष्टहरुको बर्तमान गतिविधिप्रति कटाक्ष गर्दै प्रजातन्त्रको स्थायित्वको बारेमा चिन्ता गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

कांग्रेसको केन्द्रीय महिला विभागद्धारा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो।

कम्युनिष्टहरु प्रजातन्त्रको खिलापमा रहेकोले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने आवश्यकता औल्याउदै कांग्रेसका सभापति देउवाले भन्नुभयो, ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले। अहिले ओली सरकारको कस्तो प्रजातान्त्रिक संस्कार नभएको पार्टी। कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहान्छ। झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो। हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ।’

कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसक्ने अवस्था सिर्जना गर्न आह्वान गर्दै सभापति देउवाले भन्नुभयो, ‘सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ हामीले। पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौं। अहिले पनि कम्युनिष्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुुपर्ने बेला भएको छ। प्रजातन्त्रको खिलापमा उनीहरु छन् तर हामीले स्थायी प्रजातन्त्र, कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुछ नेपालमा । त्यसका लागि एउटा मात्रै पार्टी छ नेपालमा, नेपाली कांग्रेस पार्टी छ। अरु प्रजातन्त्रवादी पार्टी नै होइनन्।’

 

सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनुभयो। ‘हाम्रो पार्टीले नेपालको संविधान अनुरुप महिला दिदीबहिनीलाई पनि ३३ प्रतिशत  आरक्षण गरेका छौँ’, प्रमुख विपक्षी दलका नेता समेत रहनुभएका कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘महिलाहरुलाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिदैन, तबसम्म पार्टीको जित कहिल्यै हुँदैन। महिला शक्ति हो। जिताउन सक्छ महिलाहरुले, हराउन पनि सक्छ। महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ। महिला मतदातालाई हाम्रो पार्टीमा आकर्षित बढी गराउनुपर्‍यो।’

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरूद्धमा लड्नुपर्ने बेला भएको बताउनुभयो।

Share Now

Leave a comment.