Prakash Adhikari March 14, 2021

काठमाडौं, १ चैत। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाडाँमा सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको सभापतित्वमा भैरहेको बैठकमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टी विवाद मुद्दामा आवश्यकता भन्दाबढी बोलेर नेपाल कम्युनिष्ट पार्टीको नामाकरण खारेज गर्दै एकीकरणपूर्वका नेकपा एमाले र नेकपा माओवादी अलग अलग अस्तित्वमा रहेको फैसला गरिदिए पछि विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भैरहेको छ ।

बैठकमा प्रतिनिधिसभा पुनस्थापना भएपछि फागुन २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकको सञ्चालन, वर्तमान सरकारमा रहेको नेकपाको समर्थन र प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारलाई विस्थापन गर्ने उपाय, भावि सरकार निर्माण र माओवादी केन्द्रको  पार्टी संगठन पुनर्र्निर्माणका सम्बन्धमा छलफल हुने बताइएको छ ।

२०७४ फागुनदेखि नै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा एकीकरण समझदारी कायम भई २०७५ जेठ ३ गते दुईपार्टी एकीकृत भएपछि पार्टीको केन्द्रदेखि तल्लो तहसम्म अस्तित्व हराएको नेकपा माओवादी केन्द्र सर्वोच्चले ब्युताएपछि पार्टीको पुनरुत्थान गर्नुपर्ने अवस्थामा पुगेको छ ।

नेकपा माओवादीबाट निर्वाचित भई प्रधानमन्त्री ओलीको सरकारमा अहिले रहेका प्रतिनिधिसभा सदस्यहरु एवम् केन्द्रीय सदस्यहरुले अब पार्टीमा पुन नफर्कने घोषणा गरिसकेको अवस्था तिनीहरुमाथि पार्टीले गर्ने कारबाहीलाई पनि राजनीतिमा निकै उत्सुकतापूर्वक हेरिएको छ ।

एमालेसंगको एकीकरणपछि एकीकृत कम्युनिष्ट पार्टीको एकल अध्यक्ष हुने आकांक्षा पाल्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नै पार्टीका प्रभावशाली र केन्द्रीय सदस्यहरु प्रधानमन्त्री ओलीको पछाडि लागेर खिइएको पार्टी पुनर्गठन गर्ने नयाँ चुनौती थपिदिएका छन् ।

 

Share Now

Leave a comment.