Prakash Adhikari March 15, 2021

सिमकोट(हुम्ला), २ चैत ।  राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा– सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’ काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले निर्माण प्रभावित भएको छ ।

कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा प्वाल खोपेर विस्फोटनका लागि तयारी गरेको छ । हिल्सा– सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाका अनुसार सो आयोजनाअन्तर्गत च्याछरा भिर, हेप्का, बोक्चेगौँडा, छारे भिर र दुल्लीकुनामा विस्फोटका लागि विस्फोटक पदार्थ नहुँदा काम रोकिएको र नेपाली सेनाको सैनिक विमान उडानका लागि अनुरोध गरेर उडान शुल्कसमेत जम्मा गरिसकिएको छ ।

योजनाअन्तर्गत चार पुल (याङ्गार खोला, सल्ली खोला, ताग्रु खोला र हेप्का खोला) निर्माण भइरहेको छ । शीघ्र कार्य गर्न निर्माण व्यवसायीलाई मौखिक तथा लिखित निर्देशन योजना कार्यालयबाट समेत दिइसकिएको छ । विसं २०७८ सम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना कार्यालयको लक्ष्य छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकप्टर, खच्चर र उत्तरी नाका हिल्साको भर पर्नुपर्ने अवस्था छ ।

निर्माण सामग्री ढुवानीका लागि कोभिड–१९ का कारण उत्तरी नाका हिल्सासमेत नखुलेको हुँदा पुलका लागि प्रयोग हुने आवश्यक निर्माण सामग्री डण्डी, सिमेन्टलगायत निर्माणस्थलसम्म ल्याउन कठिन भएकाले याङ्गार खोला पुल निर्माणमा ढिलाइसमेत भएको पुल निर्माणका प्रतिनिधि अकिल बुढाले जानकारी दिनुभयो ।

Share Now

Leave a comment.