जेनेभा(स्वीजरल्याण्ड), ३ चैत्र(बीबीसी) । कयौँ मुख्य युरोपेली देशहरूले अक्सफर्ड-आस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले त्यसो गर्न आवश्यक नरहेको जनाएको छ।
खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको उसको भनाइ छ।
जर्मनी, फ्रान्स, इटली र स्पेनले उक्त खोपको प्रयोग रोक्न साना देशहरूले चालेका कदमलाई पछ्याएका छन्।
गरिएका दाबीबारे अनुसन्धान भइरहेका बेला ती देशहरूले भने सावधानीका उपायका रूपमा त्यसो गरिएको जनाएका छन्।
मङ्गलवार महत्वपूर्ण बैठक
डब्ल्यूएचओका खोप सुरक्षा विज्ञहरूले यसबारे मङ्गलवार छलफल गर्दैछन्।
त्यसैदिन युरोपेली औषधी निकाय (ईएमए)ले समेत बैठक गर्दैछ र उसले बिहीवार निष्कर्ष सार्वजनिक गर्दैछ। उसले खोपको प्रयोग जारी राख्नुपर्ने जनाएको छ।

खोप
उक्त खोप लगाएपछि युरोपमा रगत जम्ने अवस्था विकास भएका कयौँ घटना देखा परेका थिए।
विज्ञहरूका भनाइमा ती आम जनसङ्ख्यामा देखापर्ने रगत जम्ने घटनाभन्दा बढ्दा नभएको बताएका छन्।
देशहरूले के भने ?
आस्ट्राजेनेकाका अनुसार गत सातासम्ममा रगत जम्ने त्यस्ता घटना ४० भन्दा कम देखा परेका छन्।
जर्मनीको स्वास्थ्य मन्त्रालयले सोमवार देशको खोपसम्बन्धी एक आधिकारिक निकायको सुझावमा भन्दै तत्काल लागु हुनेगरी अक्सफर्ड(आस्ट्राजेनेका खोपको वितरण रोक्ने जनाएको थियो।
स्वास्थ्यमन्त्री जेन्स स्पानले उक्त निर्णय ुराजनीतिक नरहेकोु बताउनुभएको छ।
त्यसको केहीबेरमा ईएमएको नयाँ सूचना नआउँदासम्मको लागि भन्दै फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोले समेत फ्रान्समा उक्त खोप रोकिएको जनाउनुभएको थियो।
माँक्रोले भन्नुभयो, ‘हाम्रो सामान्य तरिका छ( विज्ञान र दक्ष स्वास्थ्य अधिकारीबाट जानकारी लिने र युरोपेली रणनीतिका रूपमा त्यसमा काम गर्ने।’
इटलीले रोकको अवधि बढाएको छ।

खोप
स्पेनका स्वास्थ्यमन्त्रीले कम्तीमा दुई साताका लागि उक्त रोक रहने जनाउनुभएको छ।
द नेदरल्याण्ड्सले त्यस्तै रोक लगाएको एक दिन भन्दा कम समयमा उक्त निर्णय आएको हो।
आइरिस रिपब्लिक, पोर्चुगल, डेनमार्क, नर्वे, बुल्गरिया, आइसल्याण्ड र स्लोभेनियाले खोप दिने कामलाई अस्थायी रूपमा रोकेका छन्।
प्रजातान्त्रिक गणतन्त्र कङ्गो र इन्डोनेशियाले खोप कार्यक्रम पर सारेका छन्। अस्ट्रियासहितका केही युरोपेली देशले खोपका केही खेप प्रयोग गरेका छैनन्।
प्रयोग जारी राख्नेहरू
युरोपेली सङ्घ र ब्रिटेनमा गरेर झण्डै १ करोड ७० लाखले यस खोपको एउटा खेप लिइसकेका छन्।
बेल्जियम, पोल्याण्ड, द चेक रिपब्लिक र युक्रेनले भने आफूहरूले खोपको प्रयोग जारी राख्ने बताएका छन्।
थाइल्याण्डले केही ढिलो गरी मङ्गलवारबाट उक्त खोप दिन सुरु गर्दैछ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा प्रयोग भएका आस्ट्राजेनेका सहितका खोपहरू सुरक्षित रहेको भन्नेमा स्वास्थ्य विज्ञहरूले आफूलाई आश्वस्त पारेको बताएका छन्।
डब्ल्यूएचओ र विज्ञहरूले के भनिरहेका छन् ?
विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिस्टिन लिन्डमियरले आफ्नो निकायले सार्वजनिक भएका खबरहरूको अनुसन्धान गरिरहेको बताउनुभएको छ।
उहाँले भन्नुभएको छ ‘यी घटनालाई पूर्ण रूपमा बुझ्नेबित्तिकै, तिनका निष्कर्ष र हालका सुझावभन्दा फरक परिवर्तन हुनेबित्तिकै हामी सर्वसाधारणहरूलाई थाहा दिन्छौँ।’
‘आजको अवस्थामा ती घटना खोपले गराएका हुन् भन्ने कुनै प्रमाण छैन। खोप अभियान जारी राख्ने काम महत्वपूर्ण छ जसले गर्दा हामीले जीवनहरू बचाउन सक्छौँ र भाइरसबाट हुने गम्भीर रोग रोक्न सक्छौँ।’
घटनाहरूको समीक्षा गरिरहेको युरोपेली औषधी निकाय ईएमएले समेत खोप कार्यक्रम जारी रहनुपर्ने जनाएको छ।

खोप
यूकेको औषधी नियामकले ‘खोपले रगत जमाएको प्रमाणहरूले नदेखाएको’जनाएको छ।
बीबीसीकी स्वास्थ्य सम्पादक मिसेल रोबर्ट्स भन्नुहुन्छ, ‘आस्ट्राजेनेका खोपमा लगाइएको रोक यो खोप असुरक्षित भएर होइन।’
‘त्यो एउटा सानो सङ्ख्याका मानिसमा खोप लिइपछि किन रगत जम्ने समस्या देखियो भनेर खोज्न विज्ञहरूलाई समय दिनका लागि हो।’


















