काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार ४ बजे बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले पुनर्जीवित प्रतिनिधिसभाप्रति रोष प्रकट गर्नुभएको छ भने राष्ट्रपतिका सामु बोल्न नसकेको अन्य सहभागीलाई उछिन्दै संविधानको पालनामा प्रधानमन्त्री र राष्ट्रपति दुवै चुकेको सत्य प्रकट गर्ने हिम्मत राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर के.सी.ले मात्र गर्नुभएको छ ।
आजकै बैठकको आयोजकको तर्फबाट बोल्दै राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ राष्ट्रपतिको भनाई उद्घृत गर्दै विज्ञप्तिमा भनिएको छु हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले “हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ ।” भन्नुभएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताकाका लागि उहाँले सवैलाई धन्यवाद पनि दिनुभएको थियो ।
चित्रबहादुरद्धारा दोष देखाउने हिम्मत
सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष, कांग्रेस नेता विमलेन्द्र निधि र जनमोर्चा अध्यक्ष केसीलगायतका नेताहरुले आआफ्नो धारणा राख्नुभएको थियो।
बैठकमा जनमोर्चा अध्यक्ष केसीले राष्ट्रपति र प्रधानमन्त्रीको कारणले देशमा अनावश्यक राजनीतिक समस्या उत्पन्न भएको बताउनुभएको थियो ।
‘तपाईं जिम्मेवार ठाउँमा बसेको मान्छेले विचार गर्नुपर्थ्यो। तपाईंहरुको कारणले यो अवस्था आयोु क.सी.ले भन्नुभएको थियो, ‘जनताले ५ बर्षमा लागि पठाएपछि हामीले जनमतको कदर गर्नुपर्छ। प्रधानमन्त्रीलाई लहड चल्यो भन्दैमा आफैले बनाएको संविधान कुल्चेर जति बेला चाह्यो त्यतिबेला चुनाव घोषणा गर्ने प्रवृत्तिले राजनीतिक स्थायित्व दिदैन ।
अध्यक्ष के.सी.ले भन्नुभयो ‘अहिले चुनाव र ताजा जनादेशमा जाने बेला छैन। त्यसैको कारणले अहिले गणतन्त्रमा कालो बादल मडारिरहेको छ ।’
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले समसामयिक बिषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।
प्रम ओलीको ध्यान विघटनतिरै
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि नयाँ जानदेशमा जानुको विकल्प नभएको जिकिर गर्नुभएको थियो।
उहाँले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने आफ्नो निर्णय गलत नभएको समेत दावी गर्नुभयो।
आजको बैठक राष्ट्रपतिको आड लिएर संसद विघटनको आफ्नो असंवैधानिक राजनीतिक कदम उचित भएको तर्क पूर्वप्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुलाई सुनाउन आयोजना गरिएको जस्तो प्रतित भएको सहभागीहरुले बताएका छन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।
त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी हुनुहुन्थ्यो ।
सर्वदलीय बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि सहभागी हुनुुहुन्थ्यो।
पूर्व प्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित हुनुहुन्थेन ।
बैठकमा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको उल्लेख गर्नुभएको थियो ।


















