Prakash Adhikari March 16, 2021

काठमाडौँ, ३ चैत । मुलुकको चालु खाता रु १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु १ खर्ब ६ अर्बले घाटामा रहेको थियो ।

कुनै पनि देशको चालु खाता भन्नाले त्यस देशको खुद ब्यापारको स्थितिलाई जनाउछ । यसमा संबन्धित मुलुकले वस्तु र सेवा आयात गर्दा तिरेको भुक्तानी र आफ्नो मुलुकबाट बस्तु तथा सेवा निर्यात गर्दा लिएको आम्दानी र विदेशमा गरेको लगानीबाट भएको आय समेत गणना भएको हुन्छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको जनाएको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु सात अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई रु ९ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु १४ अर्ब ३८ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु२१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

यसैगरी गत माघ मसान्तसम्म रु १४ खर्ब ६२ अर्ब तीन करोड बराबरको विदेशी विनिमय सञ्चिति छ । गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा गत माघ मसान्तमा आठ प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा गत माघ मसान्तमा पाँच प्रतिशतले वृद्धि भई रु १२ खर्ब ८७ अर्ब ५० करोड पुगेको छ ।

Share Now

Leave a comment.