Prakash Adhikari March 19, 2021

 

काठमाडौं, ६ चैत्र । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रवार प्रतिनिधिसभामा बोल्दै चैत ९ देखि हुन लागेको नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको बाङ्ग्लादेशको दुईदिने राजकीय भ्रमणमा केही महत्त्वपूर्ण एजेन्डामा सहमति हुनसक्ने जानकारी दिनुभएको छ।

‘भ्रमणका बेला केही महत्त्वपूर्ण सहमतिहरूमा पनि हामी निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौँ। बाङ्ग्लादेशले हामीलाई एउटा नयाँ पारवहन मार्ग दिने पनि सम्भावना रहेको छ’, उहाँले भन्नुभयो।

‘साथै सांस्कृतिक आदानप्रदान र पर्यटन विकासका प्रश्नहरूमा हामी महत्त्वपूर्ण उपलब्धि हासिल गर्नेछौँ।’

थपिने मार्ग

अहिले नेपालले बाङ्ग्लादेशसँग काँकडभिट्टा-फुलबारी-बङ्गलाबन्ध पारवहन मार्ग प्रयोग गरिरहेको छ। बिरल-राधिकापुर मार्ग उपलब्ध भए पनि खासै प्रयोगमा नआएको जानकारहरू बताउँछन्।

त्यसबाहेक यसपालिको भ्रमणमा रोहनपुर-सिंहबाद रेलरुट पारवहन मार्गको अनुमतिबारे औपचारिक निर्णय घोषणा हुनलागेको ढाकास्थित नेपाली राजदूत डा. वंशीधर मिश्रले बीबीसी नेपालीलाई बताउनुभएको छ।

‘यो वास्तवमा सन् २०११ देखि नै हामीले मागिरहेको मार्ग हो। तर बाङ्ग्लादेशपट्टि ब्रोडगेज नभइसकेकोले रोकिएको थियो। बाङ्ग्लादेशको मन्त्रिपरिषद्‌ले गत अक्टोबरमै यसबारे अनुमति दिइसकेको थियो। अहिलेको भ्रमणमा औपचारिक हुने हो’, मिश्रले बताउनुभयो।

उहाँका अनुसार भविष्यमा उक्त मार्ग तेस्रो देशबाट आयातका निम्ति पनि उत्तम विकल्प हुनसक्छ।

बाङ्ग्लादेशसँग सीमा नजोडिएका कारण उसको पारवहन मार्गसम्म पहुँचका निम्ति भारतीय भूभागको प्रयोग गर्नुपर्छ।

रोहनपुर-सिंहबादको हकमा भारतले यसअघि नै उसको रेलमार्ग प्रयोगको अनुमति दिइसकेको वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशङ्कर सैँजुले बताउनुभयो।

‘नेपाल र भारतबीच यो मार्गको प्रयोगलाई लिएर सन् २०१६ मै एक किसिमको सहमति भइसकेको थियो। तर बाङ्ग्लादेशसँगको पारवहन सन्धिमा यो मार्ग उल्लेख नभएकाले लामो समय त्यत्तिकै रह्यो’, उनले भने।

व्यापार असन्तुलन
नेपालले वैदेशिक व्यापारमा अत्यधिक घाटा बेहोरिरहेको छ। पारवहन सुविधाहरू सहज हुँदा निर्यात बढ्ने अपेक्षा यथार्थमा परिणत हुन नसकेको जानकारहरू बताउँछन्।

भारतसँग कोलकाता र विशाखापट्नम अनि चीनसँग पनि चारवटा पारवहन मार्ग प्राप्त भइसकेको र अरू पनि प्राप्त हुनसक्ने सैँजु बताउनुहुन्छ।

बाङ्लादेशसँगको व्यापारमा हाल नेपाललाई घाटा भइरहेको छ। यो आर्थिक वर्षको सात महिनाको आँकडा हेर्दा नेपालले करिब ३६ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ भने ३ अर्ब रुपैयाँभन्दा धेरैको आयात गरिरहेको छ।

‘पारवहन मार्गहरूको सहजताका साथसाथै बाङ्ग्लादेशले हाम्रा कृषिजन्य वस्तु एवं अन्य निर्यात सामग्रीमा लगाइरहेको अत्यधिक गैर भन्सार शुल्कहरू नघटाएसम्म व्यापार असन्तुलन भइरहन सक्छ’, सैँजुले भन्नुभयो।

बाङ्लादेश
बाङ्लादेश भ्रमणका विशेष एजेन्डा

यसबीच बाङ्ग्लादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा हाल बाङ्ग्लादेशले विभिन्न समारोहहरू आयोजना गरिरहेको छ।

उसले विभिन्न देशका नेताहरूलाई पनि आमन्त्रण गरिरहेको छ।

 

Share Now

Leave a comment.