काठमाडौं, ९ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज दिउँँसो पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री के.पी. ओलीको नेतृत्वमा रहेको सरकारको विस्थापन र नयाँ सरकार गठन तथा पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, डा.शेखर कोइरालादेखि युवा नेता गगनकुमार थापासम्मले नेपाली कांग्रेसको नेतृत्वमा अन्य दलसँगको सहकार्यमा प्रतिगमनको मार्ग समातेका प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गरी नयाँ सरकार बनाउने विचार राख्दै आउनुभएको छ।
सभापति शेरबहादुर देउवा र उहाँ निकट नेताहरु भने तत्काल निर्वाचनमा जाने कुराको विपक्षमा पनि देखिनुभएको छैन् । सरकारमा जानेबारे हतारो पनि गरिहाल्नु भएको छैन ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जनता समाजवादी पार्टीले समेत प्रष्ट निर्णय गरिनसकेकाले प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्ने परिस्थिति बनिनसकेको सभापति देउवाले तर्क राख्दै आउनुभएको छ।
यसअघि आइतबार पौडेल निवास बोहोराटारमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले अब सरकारको नेतृत्व कांग्रेसले लिनु पर्ने र यसका लागि सभापतिमाथि दबाब बढाउने निष्कर्ष निकालेको थियो।
ओली सरकारलाई विस्थापित गरी नयाँ सरकार गठन गर्ने विषयमा नेकपा माओवादी केन्द्र र जसपाका नेताहरुले कांग्रेस नेताहरुसंग संवाद गरेपनि नेकपा एमाले र माओवादीको कचिंगल बढ्दै गएकोले भावि सरकार गठनको कार्यले कुनै दिशा र गति पक्डन सकेको छैन् ।


















