काठमाडौं, १३ चैत्र । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी(नेकपा एमाले) शीर्ष नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्वप्रति विश्वास गर्ने पार्टीका केन्द्रीय सदस्यहरुको बैठक दिउँसो १२ बजेदेखि कलंकीमा सुरु भएको छ ।
नेकपा एमाले पुनर्जीवित भएपछि नेपाल खनाल समूहले गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट रुष्ट संस्थापन पक्षले सोधेको प्रस्टीकरणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो ।
केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने बताइएको छ ।
आज दिउँसो ३ बजे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लागाउने छ ।
खनाल–नेपाल समूहमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओलीले बोलाएको बालुवाटाुरको संसदीय दलको बैठकमा जाने नजानेबारे दुई मत देखिन्छ ।आफ्नो रगत,पसिना,बुद्धि,विवेक र योगदानले बनाएको पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्दै प्रतिगमनकारीहरुलाई किनारामा पुर्याउन पर्ने मत प्रकट गरिरहेका छन भने केही नेताहरु भने प्रतिगमनकारीहरुको टाड.मुनि छिरेर अपमानित भएर बस्नुभन्दा अर्को पार्टी खोल्नु पर्ने पक्षमा देखिएका छन् ।
नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) March 25, 2021
खासगरि पहिलो पुस्ताका नेताहरुको व्यक्तिगत ईष्या र अनावश्यक हठका कारण भएको सरकार गुम्ने, पार्टी विभाजित हुने र कम्युनिष्ट आन्दोलन तहसनहस हुने भएकोले यसलाई रोक्न विभाजनलाई बल पुग्ने कुनै काम गर्न नहुने पक्षमा छन् । नेताहरुको झगडामा आफ्नो राजनीति भविष्य समाप्त हुने जोखिम देखेका नेताहरुले पार्टीमा बहुमतमा नपुगुञ्जेल मान अपमान,नाम बदनाम सबै सहेर बस्नुपर्ने मनस्थिति पनि बनाएका छन् ।
सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्याएपछि एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच विवाद उत्कर्षमा पुगेको छ ।
ओलीले एमाले ब्युतिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर संगठन निर्माण गर्न थालेका छन् ।
समानान्तर गतिविधिका बारेमा पार्टी अध्यक्षको आदेशानुसार महसचिव ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रको जवाफ पार्टीका शीर्ष नेता नेपाल र उपाध्यक्ष रावलले बिहिबार साँझ दिइसक्नुभएको छ ।
महासचिव पोखरेलले शीर्ष नेता माधवकुमार नेपाल, पार्टिका उपाध्यक्ष भीमबहादुर रावल, पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र सोध्नुभएको थियो ।
स्पष्टीकरणमा उहाँहरुले पार्टीलाई एकताबद्ध ,सबल र सुदृढ राख्न पार्टी अध्यक्षले पहल गर्नुपर्नेमा सर्वोच्च अदालतबाट नेकपा एमाले पुनर्जीवित भएलगत्तै बालुवाटारमा बोलाइको आफूपक्षीय केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान संशोधन गर्ने, महाधिवेशनद्धार निर्वाचित पदाधिकारीलाई बर्खास्त गर्ने, विधान विपरित पार्टीको साधारण सदस्यता पनि नलिएका अन्य पार्टीका नेताहरुलाई केन्द्रीय समितिको सदस्य बनाउने जस्ता अवैधानिक कार्य गरेर पार्टीलाई संकटको डिलमा लगेकोले चैत्र ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको जवाफ दिनुभएको छ ।
नेपाल खनाल समूहका नेताहरु समेत पार्टीको नर्वौ अधिवेशनबाट निर्वाचित अध्यक्ष भएको हुनाले उहाँले बोलाएको बैठक वहिष्कार नगर्ने तर त्यही गएर आफ्ना विमतिहरु उठाउने पक्षमा देखिएका छन् ।
उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि डाकिएको बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ ।
नेकपा एमालेको नेपाल खनाल समूहका सक्रिय सदस्य एवम् पूर्वमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रै बसेर अनुचित कामको विरोध गर्दै राम्रो कामको लागि आवाज उठाउनु पर्ने बताउदै आउनुभएको छ ।


















