Prakash Adhikari March 27, 2021

 

काठमाडौं, १४ चैत्र । दशरथ रंगशालामा भैरहेको त्रिदेशीय कपमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेल बङ्गलादेशविरुद्ध खेल्दैछ ।

आज साँझ दशरथ रंगशालामा हुने खेलमा नेपाली टोली दबाबमा रहेको छ । बंगलादेशले किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएकोले उ सहज अवस्थामा छ । तर बिहिबार भएको खेलमा किर्गिस्तानसंग नेपालको गोलरहित बराबरी भएकोले नेपालका लागि फाइनल पुग्न आजको खेलमा कि बंगलादेशलाई जित्नुपर्छ कि गोलसहितको बराबरीमा रोक्नु पर्दछ ।

अखि नेपाल फुटबल संघ एन्फाले आयोजनामा भैरहेको त्रिदेशीय कप अन्तरगतको आजको खेलमा बंगलादेशले २ गोल अन्तरमा जितेको अवस्थामा भने नेपालको फाइनल खेल्ने सम्भावना सकिनेछ ।

यसअघि, त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले १ का विरुद्ध शून्य गोलको अन्तरले किर्गिस्तानलाई पराजित गरिसकेको छ ।

प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा नेपालले जित निकालेको भए नेपाल पनि फाइनल पुगिसकेको हुने थियो । तर, आधा घण्टाभन्दा बढी १० खेलाडीमा सीमित भएको किर्गिस्तानसँग बराबरी खेलेपछि आजको खेल जित्नुपर्ने वा बंगलादेशलाई रोक्नुपर्ने दवावमा छ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमले ६ वर्षपछि पाएको दशरथ रंगशालामा खेल्ने मौकालाई भरपुर सदुपयोग गरिएको र पहिलो खेलका सबै कमजोरी दोस्रो खेलमा सुधारिने बताउनुभएको छ । उहाँले मैदानमा उत्रिएको फरवार्ड, मिडफिल्डर मिलाएर बनाएको वेस्ट टिमले किर्गिस्तानसंगको खेलमा ५-६ गोल हुने अवसर सिर्जना गरेर पनि गोल गर्न नसकेकोले त्यसमा आज सुधार हुने अपेक्षा राख्नुभएको छ ।

बंगलादेशविरुद्धको आजको खेलमा अंक लिने हिसाबले खेलिने दावी उहाँले गर्नुभएको छ ।

यो खेलले फुटबलको विश्वकप छनोट खेलमा राम्रो नतिजा निकाल्न सहयोग पुग्ने प्रशिक्षक महर्जनको दावी छ । उहाँले भन्नुभएको छ, हामीसँग अझ दुई तीन महिना बाँकी छ। कुन पक्षमा कमजोरी छ, हेर्छौ। यो खेलले सुधारका क्षेत्र पहिचान गर्न सहयोग गरेको छ ।

 

Share Now

Leave a comment.