काठमाडौं, १४ चैत्र । समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई गोलरहित बराबरीमा रोक्दै नेपाल त्रि राष्ट्र अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिवार साँझ नेपाल र बंगलादेशबीच भएको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई गोलरहित बराबरीमा रोकेर आफ्नो फाइनल यात्रा सुनिश्चित गरेको हो ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न सकेनन्।
शनिबार सुरुदेखि नै नेपालले गोल गर्ने अवसरहरू बनाए पनि गोल गर्न नसक्दा नेपाल गोल बिना नै फाइनलमा पुग्न सफल भएको छ।
घरेलु टोलीले पहिलो खेलमा बिहीबार किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो।
बराबरीले पनि फाइनलमा पुग्ने भएकाले शनिबार नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो। यो नतिजाले किर्गिस्तान यू २३ टोली भने प्रतियोगिताबाट बाहिरिएको छ।
किर्गिस्तानले पहिलो खेलमा बंगलादेशसँग १–० को हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।
बंगलादेशले भने दुई खेलमा चार अंक जोडेको छ।
आजको खेलको सिकाइले फाइनलमा राम्रो नतिजा आउने प्रशिक्षक बालगोपाल मर्हजनले बताउनुुभएको छ।
शनिबारको गोलरहित खेलमा म्यानअफ दि म्याचको उपाधि रोहित चन्दलाई प्रदान गरियो ।
बंगलादेश र नेपालबीच नै फाइनल खेल सोमबार साँझ साढे ५ बजे दशरथ रंगशालामा हुने भएको छ ।


















