काठमाडौं, १६ चैत्र । नेपालको वायुमण्डलमा बढ्दै गएको प्रदूषणको कारण सरकारले देशभरका शैक्षिक संस्थाहरु चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गर्नुभएको थियो ।
त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नु आवश्यक भएको बताउनुभएको थियो ।
मंगलबारदेखि शुक्रबारसम्म अब सबै शिक्षण संस्थाहरु बन्द हुनेछन् ।


















