Prakash Adhikari March 29, 2021

काठमाडौं,१६ चैत । राजधानीमा भएको थ्री नेसन्स कप फुटबलको उपाधि नेपाली राष्ट्रिय फुटबल टोलीले जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २ १ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गर्नुभएको थियो । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गर्नुभएको थियो । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता बंगलादेशले ३ हजार डलर पायो ।

नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।

पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले दशरथ रंगशालामै बंगलादेशलाई पराजित गर्यो ।

यसै महिना तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै थ्री नेसन्स कप फुटबल आयोजना गरेको हो ।

 

Share Now

Leave a comment.